८ बैशाख २०८१, शनिबार

दुई देशका प्रधानमन्त्रीले उद्घाटन गरेको रेल जनकपुरधाम आइपुग्यो

rail

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको हैदरावाद हाउसबाट हरियो झन्डा देखाएर उद्घाटन गर्नुभएको रेल जनकपुरधाम आइपुगेको छ ।

rail 2 e1648899713881

भारतको जयनगरबाट जनकपुरधाम आइपुग्न रेललाई दुई घण्टा लाग्यो । हरेक स्टेसनमा भव्य रुपमा स्थानीयवासीले नेपाल–भारतको झन्डासहित ताली बजाएर स्वागत गरेका थिए ।

शनिवार दिउँसो करिब १ बजे भारतको जयनगरबाट गुडेको रेल दिउँसो ३ बजे जनकपुरधाम आइपुगेको हो । रेललाई नयाँ बेहुली झैँ सिँगारिएको छ ।

जनकपुरधाम पुगेपछि छात्र–छात्राहरूले नेपाल र भारतको झन्डासहित रेलको स्वागत गरेका थिए । रेल हेर्नका लागि बिहानैदेखि हजारौँको सङ्ख्यामा स्थानीयहरू रेल्वे स्टेसनमा पुगेका थिए ।

rail 3

अब आइतबारदेखि दिनहुँ दुई पटक रेल सञ्चालन हुने छ । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको रेल संरचनाहरूको निर्माणमा ६ अर्ब भारतीय रकम हालसम्म खर्च भएको भारतीय कम्पनीले जनाएको छ ।

यस अघि रहेको न्यारोगेज रेल सेवालाई विस्थापित गरेर ब्रोडगेज रेल सेवा सञ्चालन भएपछि यस क्षेत्रका जनताको वर्षौँ पुरानो ठूलो रेल चढ्ने सपना पुरा भएको जनकपुरधामका समाजसेवी गङ्गाराम यादवले बताउनुभयो ।