८ बैशाख २०८१, शनिबार

ठगिएकाहरूलाई न्याय दिने काम भएको छ: मन्त्री श्रेष्ठ

krishnakumar

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ किसानले मन्त्रीको हैसियतमा रहेर ऐतिहासिक काम गरेको बताउनुभएको छ ।

रोजगारी सिर्जना गर्नुका साथै श्रम शोषणमा परेका युवाहरूको उद्धारमा आफ्नो मन्त्रालयले उदाहरणीय काम गरेको मन्त्री श्रेष्ठले बताउनुभयो ।

तनहुँको भिमादमा आयोजित कार्यकर्ता भेलामा मन्त्री श्रेष्ठले रोजगारीका सिलसिलामा ठगिएकाहरूलाई न्याय दिने काम भएको दाबी गर्नुभयो ।

उहाँले देशमा रोजगारी सिर्जना गर्न नसक्दा बाध्यतावश वैदेशिक रोजगारीमा युवा पठाउनुपर्ने अवस्था रहेको बताउनुभयो । मन्त्री श्रेष्ठले आगामी निर्वाचनमा राम्रो काम गर्ने नेतालाई मत दिन पनि आग्रह गर्नुभयो ।

जनताको पक्षमा काम गर्ने नेता छान्ने अवसर आएको भन्दै सत्तामा पुगेर जनताको मत दुरुपयोग गर्नेहरूलाई चिन्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य कलिला खान, नेकपा एसका पोलिटब्यूरो सदस्य प्रतापलाल श्रेष्ठ, भूमि आयोग तनहुँका विज्ञ सदस्य श्रीराम कार्की, दलित मुक्ति मोर्चाकी केन्द्रिय सदस्य दुर्गा नेपाली लगायतले निर्वाचनमा गठबन्धनलाई जित दिलाउने बताउनुभएको थियो ।

भिमाद नगर कमिटीका अध्यक्ष काजीमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मनकुमार श्रेष्ठले गर्नुभएको थियो ।