१६ बैशाख २०८१, आईतवार

सरकार गठनको तयारी प्रदेश १ मा, नेतृत्वमा एमाले र माओवादीको दाबी

Pradesh1Sachibalaya 1672295967

प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले आह्वान गर्नेबित्तिकै प्रदेश १ मा सरकार गठनका लागि नेकपा एमाले नेतृत्वको गठबन्धन तयारी अवस्थामा छ । तर प्रदेश सरकारको नेतृत्वमा गठबन्धनका प्रमुख दुई दल एमाले र माओवादी केन्द्रले दाबी गर्दै आएका छन् ।

प्रदेश १ मा ४० प्रदेशसभा सदस्य जितेर सबैभन्दा ठूलो दल बनेको नेकपा एमाले सरकार गठनको तयारीमा जुटेको छ । एमालेले १३ सिट भएको नेकपा माओवादी केन्द्र, ६ सिट जितेको राप्रपा र १ सिट जितेको जसपालाई समेटेर सरकार बनाउँदै छ ।

प्रदेशसभाका संसदीय दलका नेता हिक्मतकुमार कार्की भन्छन्, ‘हामी चारवटा पार्टीको सरकार बन्छ । चारवटै सरकारमा सहभागी हुन्छन्, मेरो यही बुझाइ छ ।’

नेकपा एमालेले सरकारको नेतृत्व गर्ने करिब पक्का भइसक्दा पनि प्रदेश गठबन्धनको दोस्रो ठूलो घटक नेकपा माओवादी केन्द्रले पनि मुख्यमन्त्रीको दाबी छाडेको छैन ।

माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले भने, ‘हामीले त के भनेका छौँ भने, योभन्दा अघिल्लोपटक पनि एमाले नेतृत्वमा सरकार बन्यो दुईपटक । त्यसपछि एकीकृत समाजवादीको सरकार बन्यो । र, अहिले गठबन्धनमा चाहिँ माओवादीको नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने हाम्रो आधिकारिक दाबी हो ।’

प्रदेश सभामा ४३ प्रतिशत हिस्सा ओगटेर एमाले सबैभन्दा ठूलो दल छ भने माओवादी केन्द्र १४ प्रतिशतमा मात्र सीमित छ ।

जनमतले सबैभन्दा ठूलो दल बनाएको भन्दै एमालेले प्रदेश १ मा मुख्यमन्त्री नछाड्ने संकेत गरेको छ । अघिल्लो गठबन्धनले मन्त्रालय फुटाएर अनावश्यक फजुल खर्च बढाएको र सुशासन कमजोर भएको भन्दै यसलाई सुधार गर्न पनि सरकारको नेतृत्व गर्नुपर्नेमा एमाले नेता कार्यकर्ताको जोड छ ।

नेकपा एमालेको ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको छ र जसपाको एक गरी एमाले नेतृत्वसँग ६० जना प्रदेशसभा सदस्य छन् । विपक्षमा भने नेपाली कांग्रेससँग २९ र नेकपा एकीकृत समाजवादीसँग चार जना प्रदेशसभा सदस्य छन् । ९३ सदस्यीय प्रदेशसभामा सरकार गठन गर्न ४७ जना प्रदेशसभा सदस्य आवश्यक पर्छ ।