१४ बैशाख २०८१, शुक्रबार

गठबन्धनप्रति लक्षित गर्दै ओलीले भने- बैसाखी टेकेर होइन, सबै मिलेर आएपनि एमालेसँग लड्न सक्दैनन्

oli kapilvastu

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बैसाखी टेकेर एमालेसँग लड्न नसकिने बताउनु भएको छ । उहाँले गठबन्धनप्रति लक्षित गर्दै बैसाखी टेकेर मात्र होइन सबै मिलेर आए पनि एमालेलाई हराउन नसक्ने दाबी गर्नुभयो ।

एमाले कपिलवस्तुले सोमबार आयोजना गरेको पार्टी प्रवेश तथा वृहत् जनसभामा बोल्दै अध्यक्ष ओलीले बलियो साँढे नेपाली काँग्रेसले बैसाखी टेकेर दायाँ र वाँया गरेको बताउनु भयो ।

उहाँले एमालेले जिते मात्र राष्ट्र समृद्ध हुने दाबी गर्नुभयो । सम्बोधन गर्दै नेता ओलीले शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधारको विकासले मुलुकमा परिवर्तन आउने बताउनु भयो । अध्यक्ष ओलीले एमालेले देशलाई डिजिटल आधुनिक नेपाल निर्माण गर्ने दाबी गर्नुभयो।

एमाले उपाध्यक्ष विष्णु पौडेलले आगामी स्थानीय तहको निर्वाचनमा एमालेको जितलाई कसैले रोक्न नसक्ने बताउनुभयो ।

आजै एमालेमा प्रवेश गर्नुभएका सांसद वृजेशकुमार गुप्ताले मधेसको विकास र मधेसीको हितमा काम गर्ने दल एमाले मात्र भएको उल्लेख गर्नुभयो ।

सो अवसरमा लुम्बिनी प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवात्सव, कपिलवस्तु नगरपालिकाका पूर्वनगर प्रमुख रामदास गुप्ता, पूर्वउपप्रमुख वासुदेव कशौधन, कपिलवस्तु नगरपालिका–१ का वडाध्यक्ष सुदीप पौडेल, वडा नं ४ वडाध्यक्ष रवीन्द्र त्रिपाठी, वडा नं १२ का वडाध्यक्ष ओमप्रकाश पाण्डे, बुद्धभूमि नगरपालिका–६ वडाध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपालिका–८ अध्यक्ष साहबुद्दिन मुसलमानलगायत एमालेमा प्रवेश गरेका थिए ।