१३ बैशाख २०८१, बिहीबार

धोइपखाली गरेर जस्लाई राम्रो र नायक बनाउन खोजियो उही खलनायक भए: प्रचण्ड

prachanda 6

पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र अझै कायम रहेको बताएका छन् ।

सोमबार रोल्पाको लिवाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशभित्र र बाहिरका प्रतिक्रियावादीहरुले संविधान र गणतन्त्र उल्ट्याउने षड्यन्त्र अझै जारी राखेको बताएका हुन् ।

अझैपनि देशभित्र र बाहिरका प्रतिक्रियावादीहरुबाट संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र रोकिएको छैन’, प्रचण्डको भनाइ छ । उनले त्यस्तो षड्यन्त्र जारी रहेकाले रोल्पालाीहरुलाई खबरदारी गर्न नछाड्न आग्रह गरे । ‘तपाईंहरुकै बलमा हामीले सिंहदरबारमा लड्ने हो । हिजो हतियारबाट लडिएको थियो, तर आज शान्तिपुर्ण । आन्दोलन भने रोकिएको छैन’, प्रचण्डको भनाइ छ ।

अध्यक्ष प्रचण्डले जनयुद्धकालिन समयमा सरकारले माओवादीलाई घेरा हाल्ने र सखाप पार्ने नीतिमा रहेजस्तै आज पनि प्रतिक्रियावादी र परिवर्तनकारीबीच त्यस्तै लडाई जारी रहेको बताए । ‘लडाई उस्तैउस्तै छ । प्रतिक्रियावादीहरु हामीलाई घेरा हाल्ने प्रयासमा छन् भने हामी तोड्ने प्रयासमा छौ ।

हामीलाई हराउने र सिध्याउने अनेक षडयन्त्र भइरहेका छन्, तर सफल हुन सकेका छैनन्’, पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डको भनाइ छ । अध्यक्ष प्रचण्डले रोलपालीहरुलाई शान्ति र विकास निर्माणमा पहिलाको जस्तै पहलकदमी लिन आग्रह गर्दै प्रतिक्रियावादीको लागि रोल्पा आतंकका रुपमा चिनिएको बताए ।

उनले कम्युनिस्टहरूबीच एकता गर्दा मुलुकमा स्थायी शान्ति र विकास हुने ठानेर पार्टी एकता गरेपनि जसलाई धोइपखाली गरेर राम्रो बनाउन र नायक बनाउन खोजियो उही खलनायक भएर निस्केको बताए ।

उनले रोल्पाका सवै स्थानीय तहमा माओवादीलाई जिताउन आग्रह गर्दै रोल्पाको विकासका लागि आफुले पहल गर्ने प्रतिवद्धता समेत जनाए ।