१३ बैशाख २०८१, बिहीबार

अहिलेसम्म गठबन्धनको पक्षमा बहुमत केन्द्रीय सदस्यको धारणा आएको छ, भोलि टुंगो लाग्छ: प्रवक्ता महत

Prakash saran mahat

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी स्थानीय तहको निर्वाचनमा आवश्यक्ताको आधारमा गठबन्धन गर्ने पक्षमा आफ्नो पार्टी रहेको बताउनुभएको छ ।

आईतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रिय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै प्रवक्ता महतले यस्तो बताउनु भएको हो । उहाँले हरेक वडा, पालिका र महानगरपालिकामा पार्टीले कसरी धेरै भन्दा धेरै सिट जित्छ र पार्टी बलियो बन्छ भन्ने कुरालाई ध्यानमा राखेर गठबन्धन हुने बताउनु भयो ।

उहाँले पार्टीले केन्द्रिय समितिको बैठकमा सबै वक्ताहरुले बोलेपछि मात्रै यसबारेमा आधिकारिक निर्णय गर्ने पनि बताउनु भयो । प्रवक्ता महतले अहिलेसम्म अधिकांश वक्ताहरुले कतिपय ठाउँमा गठबन्धनसँग समझदारी गरेर नै जानुपर्ने धारणा राखेको बताउनु भयो ।

प्रवक्ता महतले भन्नुभयो, ‘वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन छ । त्यसमा कसरी जाने भन्ने विषयमा पनि साथीहरुले आफ्नो आफ्नो जिल्लाको अनुभवको आधारमा सुझाव सल्लाह दिनुभएको छ ।

गठबन्धनको आवश्यक्ता छ भन्ने नै कुरा उहाँहरुले गर्नुभएको छ । आवश्यक्ताको सिद्धान्तमा निर्वाचनमा जाने भनेको भावनाको विषय मात्रै होइन, बढी भन्दा बढी सफलता निर्वाचनमा हासिल गर्नको लागि हामी निर्वाचनमा जाने र बढी भन्दा बढी सफलता हासिल गर्न कतिपय ठाउँमा समझदारी गरेर गठबन्धन गरेर पनि जानु पर्दछ भन्ने नै अधिकांश साथीहरुको मत छ ।

अब भोलिसम्म सबै साथीहरुले बोलिसकेपछि कुन खालको मोडालिटीमा कस्तो खाले ढाँचामा जान्छ भन्ने कुराको पनि निक्र्यौल हुन्छ । गठबन्धनमा जाने नजाने भन्ने कुरा आवश्यक्ताको सिद्धान्त अनुसार अघि बढ्नेछौँ । यो रणनैतिक विषय हो । के गर्दा पार्टीलाई धेरै फाइदा हुन्छ, बढी सिट जित्न सकिन्छ । त्यो भन्दा अरु कुनै क्राइट एरिया हुन सक्दैन । आवश्यक्ताको सिद्धान्तलाई मध्यनजर राखेर निर्णय हुन्छ ।’

आजको बैठकमा केन्द्रीय सदस्यहरु एनपी साउँद, जीवनबहादुर शाही, दिपक गिरी, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, सीता गुरुङ, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, देवेन्द्रराज कँडेल, डा डिला संग्रौला, सरिता प्रसाई, अमृत अर्याल, डा गोपाल दहित, योगेन्द्र चौधरी, कल्पना चौधरी, ध्रुव वाग्ले, महेन्द्रकुमार राय, गेहेन्द्र गिरी, सञ्जयकुमार गौतम, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, राजीव कोइराला, अब्दुल रज्जाक, चन्द्रबहादुर केसी, उमेशजंग रायमाझी, अब्दुल सत्तार, उदयशम्शेर राणा, जीतजंग बस्नेत, राजीव ढुंगाना, राजेन्द्रकुमार केसी, अर्जुनजंगबहादुर सिंह, राजीवबिक्रम शाह, डा चन्द्रमोहन यादव, अञ्जनी श्रेष्ठ, मैकुलाल वाल्मिकी, चम्पादेवी खड्का, प्रकाश रसाईली स्नेही, रंगमती शाही, मञ्जुकुमारी यादव, गुरु बराल, प्रतिमा गौतम, जावेदा खातुन जागा, नागिना यादव, नानु बास्तोला, भीम पराजुली, कान्तिका सैजुवाल, गंगालक्ष्मी अवाल, उर्मिला नेपाल के.सी., सुशीला ढकाल (आचार्य), रुपा विक, विद्यादेवी तिमिल्सीना र जीवन रानाले आ–आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।

प्रवक्ता महतले भोलि स्थानीय तहको निर्वाचनमा पार्टी गठबन्धनसँग मिलेर जाने वा नजाने भन्ने विषयको टुंगो लाग्ने पनि बताउनु भयो ।