१३ बैशाख २०८१, बिहीबार

मध्यरातमा प्रहरीको छापा सिरहामा अवैध ग्राभेल उत्खनन खानीमा, स्काभेटरसहित ५ ट्रिपर नियन्त्रणमा

triper

अवैध ग्राभेल उत्खनन गरिरहेको अवस्थामा सिरहा प्रहरीले गोलबजार नपा १ मुक्सारबाट एउटा स्काभेटरसहित ५ वटा ट्रिपर नियन्त्रणमा लिएको छ ।

अवैध उन्खनन् गरिरहेको भन्ने स्थानीयको सूचनाको आधारमा पुगेको प्रहरीले ना ३ ख ६८१२, प्र २–०१–००१ ख ०२४३, ना ३ ख ८७७७, प्र २ –०१–००१ ख ०१०१ र रा १ ख २०८८ नम्वरको ट्रिपर र नम्वर उल्लेख नभएको चेनबाला स्काभेटर शनिवार राति नियन्त्रणमा लिएको हो ।

ट्रिपर र स्काभेटर नियन्त्रणमा लिएपनि साँचो लिएर ड्राईभर फरार भएकाले ४ वटा ट्रिपर र स्काभेटर प्रहरीको सुरक्षामा उत्खननस्थलमै रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिनुभयो । उहाँले गाडी ल्याउने प्रयास भईरहेको बताउनुभयो । राती उत्खनन गरिरहेको अवस्थामा प्रहरी पुगेपछि सवै गाडीका चालकहरु भागेका थिए ।

प्रत्येक वर्ष विकास निर्माणको काम सुरुभएसँगै सिरहाको गोलबजार, धनगढीमाई, मिर्चैया, कर्जन्हा र लहान नगरपालिकाको उत्तरीक्षेत्रमा अवैध उत्खनन भएपनि स्थानीय निकाय मुकदर्शक बनेको छ । स्थानीय निकायमा नै खानी दर्ता गर्ने र त्यसको राजस्व लिने व्यवस्था भएपनि उनीहरुको मौनताले मिलेमत्तोको गन्ध दिएको स्थानीयहरुको आरोप रहँदै आएको छ ।
स्थानीय पालिका र प्रहरी प्रशासनको समेत मिलेमत्तोमा ग्राभेल उत्खनन हुने गरेको स्थानीयको आरोप छ ।

गोलबजार नगरपालिकामा हालसम्म दर्ता भएका खानीले पनि अनुमति नलिएको र अनुमति विनै दर्जनौं स्थानबाट ग्राभेल निकाल्ने गरेको स्थानीयको दाबी छ । गोलबजार नगरपालिकाका सूचना अधिकारी दिनेश सहनीले खानी नगरमा दर्ता नभएको जानकारी दिनुभयो ।