
नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई जति नै सिद्धियो भने पनि अझै नेपाली राजनीतिको केन्द्रमा रहेको बताएका छन् ।
प्रवास समन्वय समितिको भर्चुअल प्रशिक्षण मार्फत प्रवासमा रहेका आफ्ना पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने, ‘माओवादी हजारौँ पटक सिद्धियो भनेका छन् तर केन्द्रमा हामी नै छौँ ।’
उनले पार्टी फुटाउने र कमजोर पार्ने षड्यन्त्रहरु चलिनै रहेको बताउँदै अरुका लागि चुनाव सामान्य भएपनि आफूहरुका लागि युद्धको मोर्चा भएको बताए ।
चुनावमा हार्ने र जित्ने मात्र नभएर हजारौँ सहिदको त्याग र बलिदानको जगमा खडा भएको संविधानको रक्षाको दायित्व आफूहरुको काँधमा रहेको बताए ।
कार्यक्रममा प्रवास समन्वय कमिटीका इन्चार्ज नारायणकाजी श्रेष्ठले पार्टी र जनताबीचको सम्बन्ध कमजोर भएको औंल्याउँदै त्यसलाई सच्याउन जरुरी रहेको पनि बताए ।
प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विदेशमा रहेका जनप्रगतिशील मञ्चका अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो ।