
कोरोना भाइरस संक्रमण फैलन नदिन जारी गरिएको लकडाउनका कारण समस्यामा परेका नागरिकलाई उपलबध गराउन लागिएको राहत सामग्री पर्सामा लुटिएको छ ।
पर्साको पर्सागढी नगरपालिकामा विपन्नलाई वितरण गर्न लगिएको राहत सामग्री लुटपाट गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–५ का श्यामकुमार शर्मा, सम्सुल हवारी, चन्द्रकिशोर साह, चन्द्रिका पटेल र दर्शन रायभार रहेका प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र एकटाङ्गाको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई वीरगञ्जस्थित जिल्ला प्रहरी कार्यालय ल्याइएको छ ।
शनिबार पर्सागढी नगरपालिका–६ मा लैजाँदै गरेको ८४ पोका राहत सामग्री वडा नम्बर–५ का बासिन्दाले पचरुखी भन्ने ठाउँमा लुटेको प्रहरीले जानकारी दिएको छ ।
एउटा पोकामा दुई किलो दाल, एक लिटर तेल, दुई प्याकेट नुन, दुई वटा डिटोल र दुई वटा कपडा धुने साबुन गरी छ सय रुपैयाँ बराबरको समान रहेको पर्सागढी नगरपालिकाले जनाएको छ ।