४ जेष्ठ २०८१, शुक्रबार

कोरोना भाइरसका कारण मृत्युको मामलामा चीन पहिलो नम्बरमा, अमेरिका त छेउछाउ पनि छैन : ट्रम्प

Donald Trump

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसका कारण सबैभन्दा धेरै चीनमा मृत्यु भएको दाबी गर्दै अमेरिका त चीनको छेउछाउ पनि नभएको बताएका छन् ।

ह्वाइट हाउसमा कोरोना भाइरसको महामारीबारे हुने दैनिक पत्रकार सम्मेलनको शनिबारको आयोजनामा अमेरिकी राष्ट्रपतिले यस्तो दाबी गरेका हुन् ।

यसबारे उनले भने, ‘कोरोना भाइरसका कारण भएको मृत्युको मामलामा अमेरिका पहिलो नम्बरमा होइन । पहिलो नम्बरमा चीन छ । हामी त उसको छेउछाउ पनि छैनौं । यो मलाई पनि थाहा छ र उनीहरुलाई पनि थाहा छ ।’

उनले अन्य देशमा भइरहेको मृत्युको आँकडाबारे पनि उक्त पत्रकार सम्मेलनमा कुराकानी गरे ।

उनका अनुसार अमेरिकामा कोरोनाभाइरसका कारण भइरहेको मृत्युदर युरोपको देशभन्दा कम छ ।

ट्रम्पले भने, ‘जर्मनीको यो मामलामा अपवाद हो । ब्रिटेन, स्विटजरल्याण्ड, बेल्जियम र फ्रान्सको तुलनामा अमेरिकामा कोरोनाका कारण भएको मृत्युदर कम छ । स्पेनको मृत्युदर त अमेरिकाभन्दा चार गुणा बढी छ ।’

ट्रम्पले यसअघि पनि चीनमा कोरोनाका कारण सबैभन्दा धेरै मृत्यु भएको दाबी गर्दै चीनले मृतकको आँकडा लुकाएको आरोप पनि लगाउँदै आएका छन् । एजेन्सी