१५ बैशाख २०८१, शनिबार

चार तोला सुन प्रेसरकुकर ‘बम भित्र, चिठ्ठी लेखेर फिर्ता

kailali bom

कैलाली प्रहरीमा मंगलबार बिहान खबर आयो, गोदावरी नगरपालिका–१, बनखेतस्थित नवीन साहुको घरअगाडि खतरा लेखेको प्रेसरकुकर छ ।

प्रहरी टोलीले बम हुन सक्ने आशंकामा सेनालाई खबर गर्‍यो । केही समयपछि सेनाको टोली घटनास्थलमा पुग्यो । सेनाले डिस्पोज गर्दा प्रेसरकुकरभित्र विस्फोटक पदार्थ नभई सुनका गहना भेटियो ।

इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी नवराज पोखरेलले भने, “बम सोचेको त चार तोला बराबरको सुनका गहना भेटियो । हामी पनि अचम्ममा पर्‍यौँ । घटनाबारे थप अनुसन्धान जारी छ ।” सुनसँगै कुकरमा एक नोट पनि थियो । जहाँ लेखिएको थियो, “आफूलाई ठूलो नसम्झिनू । घमण्ड नगर्नू । सबैसँग मिलेर बस्नू ।”

डिस्पोजल टोलीले उक्त कुकर डिस्पोज गर्दा त्यसभित्र सुनका गरगहना फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले बताए। 

‘कसले यसरी कुकरभित्र गहना राखेको भन्नेबारे अनुसन्धान हुदैछ,’ उनले भने।

प्रहरीका अनुसार प्रेसरकुकरभित्र भेटिएका सुनका गहना नवीन साहकै परिवारको रहेको खुलेको छ । गएको मंसिर १४ गते साहको घरबाट १० तोला सुनका गहना चोरी भएको थियो । त्यसबारे प्रहरीमा उजुरी पनि दिइएको थियो । डीएसपी पोखरेलका अनुसार सुन चोरी प्रकरणमा प्रहरीले केही व्यक्तिलाई शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको थियो ।

चोरले आफ्नो पोल खुल्ने डरले गहना फिर्ता गर्न प्रेसरकुकर बमको बहाना बनाएको हुन सक्ने प्रहरी आशंका छ । साहु परिवारले सुन आफ्नो भएको सनाखत गरेको छ ।

अझै केही सुन हराइरहेको र घटनाबारे अनुसन्धान भइरहेको डीएसपी पोखरेलले बताए । प्रहरीका अनुसार साहु दम्पती काठमाडौं आएको बेला ताल्चा, ढोका र दराज तोडेर गहना चोरिएको थियो ।

चोरले चिठ्ठी लेखेर सुन फिर्ता

घरबाटै चोरी भएको सामान प्रायः प्रहरीले पत्ता नलगाउन्जेलसम्म फिर्ता पाउनै मुस्किल हुन्छ। तर, कैलालीको अत्तरियामा भने चार महिनापछि चोरले चिठ्ठीमा सुझाव लेखेर गहना फिर्ता गरिदिएको छ।

गोदावरी नगरपालिका–१, अत्तरियास्थित वनखेतका नवीन शाहूको घरबाट गत मंसिर १४ गते राति चोरी भएका गहना चोरले मंगलबार घर अगाडि प्रेशर कुकरभित्र सुझावसहितको चिठ्ठी र गहना राखेर फिर्ता गरेको हो।शाहूकै घर अगाडि मंगलबार बिहान प्लाष्टिकको थैलोभित्र प्रेसर कुकरमा राखेको अवस्थामा शंकास्पद खालको देखिने गरी चोरले सुझावसहितको चिठ्ठी र गहना फिर्ता गरेको प्रहरीले जनाएको छ।

गत मंसिर १४ गते राति शाहूको घरमा कोही नभएको मौका छोप्दै सुन चोरी भएको थियो। ‘सुन चोरी भएको भन्दै निवेदन दिएका शाहूको घर अगाडि आज बिहान प्रेसर कुकर राखिएको थियो,’ इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले भने, ‘बिहान हामीलाई जानकारी भएपछि नेपाली सेनाको बम डिस्पोजल टिमसहित त्यहाँ गएर डिस्पोज गर्दा उक्त कुकर भित्र सुन फेला पर्‍यो।’

sun firtaa

‘उहाँहरूले ८ तोलाको गरगहनाको बिल ल्याएर चोरी भएको गहना र चोरलाई पक्राउ गरी कारबाहीको माग गर्दै उजुरी दिनुभएको छ, अहिले चार तोला मात्रै फेला परेको छ,’ डिएसपी पोखरेलले भने।

उनका दम्पती काठमाडौं गएका बेला घरमा लगाएको ताल्चा, ढोका र दराज फोडेर झुम्का, औंठी, हार, तिलहरीलगायत ८ तोलाभन्दा बढी सुनका गरगहना चोरी भएको निवेदनमा उल्लेख छ।

घटना भएको अर्को दिन साहु दम्पतीले दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान गरिरहेका बेला यसरी फेला परेका गहना उनकै हुनसक्ने अनुमान गरिएको छ।

उक्त प्रेसर कुकरभित्र चोरी भएको सुनका गहनाका साथै त्यसमा घरमालिकलाई चिठ्ठी लेखेर समाजमा मिलेर बस्नुपर्नेलगायतका सुझावहरू राखेको उनले बताए। उनले भने,‘प्रेसर कुकरभित्र सुनका गहनासहित चिठ्ठी थियो, चिठ्ठीमा घर मालिकलाई विकास निर्माणका कुरा गर्दा असहमति राख्नु भएको थियो। अब आइन्दा त्यस्तो असहमति नराख्नु होला, समाजमा मिलेर बस्नुहोला, सबैलाई मान मर्यादा गर्नुहोला लगायतका सुझावहरु लेखिएको थिए।’

चोरिएको सुन भेटिएपछि प्रहरीले मुचुल्का बनाई जनप्रतिनिधिको रोहवरमा सम्बन्धित व्यक्तिलाई बुझाएको पोख्रेलले बताए। घटनाबारे गाउँटोलकै मानिस हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान थालेको छ। ‘यस घटनामा वरपरकै मानिस हुन सक्ने भन्दै हामीले अनुसन्धान थालेका छौँ,’ डिएसपी पोख्रेलले भने।