१३ बैशाख २०८१, बिहीबार

धिरज र अदितीको ‘बाबरी’सँग सौगात–वर्षाको ‘लाखे’ जुध्ने

lakhe

आउँदो बर्षको भदौ ३१ गते नायक धिरज मगर र नायिका अदिती वुढाथोकीको मुख्य भूमिका रहेको फिल्म ‘बाबरी’ रिलिज हुँदैछ । तर, अब यो फिल्मले सोलो रिलिजको अवसर नपाउने भएको छ । यो मितिमा मल्टिस्टारर फिल्म ‘लाखे’ पनि रिलिज हुने पक्का भएको छ ।

फिल्मका कार्यकारी निर्माता हरि मल्ल ठकुरीले फिल्म भदौ ३१ गते रिलिज गर्ने पक्का भएको जानकारी दिएका छन् । सम्राट बस्नेतको निर्देशनमा तयार भएको यो फिल्मलाई आरआरआर फिल्मस्ले वितरण गर्ने भएको छ ।

महंगो बजेटमा निर्माण भएको भनिएको यो फिल्ममा सौगात मल्ल, आर्यन अधिकारी, अनुप विक्रम शाही, वर्षा राउत, सुशील सिटौला, अर्पण थापा, प्रशान्त ताम्राकार, रोहित रुम्बा, सन्जोग राणा, रक्षा वुढाथोकी, कालु राना र बाल–कलाकार सिस्टम भण्डारीको मुख्य भूमिका छ ।

गणेश मल्ल ठकुरी (जिएम) को प्रस्तुति रहेको फिल्मको कथाकार र निर्माता सिजन अर्याल हुन् । सुसन प्रजापतिले खिचेको फिल्मका गीतमा दीपक बज्राचार्यको संगीत छ ।

ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा,सम्वाद आकाश बरालले लेखेका हुन । अर्जुन जिसीले सम्पादन गरेको फिल्मको छायांकन केही दिन अगाडि मात्र सकिएको थियो ।