१६ चैत्र २०८०, शुक्रबार

अदितिको लागि किन विशेष छ ‘बाबरी’ ?

aditi budathoki

‘कृ’ डेब्यु अभिनेत्री अदिति बुढाथोकीको लागि दोस्रो सिनेमा ‘बाबरी’ निक्कै विशेष छ ।

असोज १४ देखि प्रदर्शनमा आउने ‘बाबरी’लाई अदिति आफैपनि विशेष मान्छिन । यो सिनेमाको सफलता र असफलताले अदितिको करिअरमा अर्थ राख्छ ।

‘बाबरी हाम्रो टिमको लागि विशेष छ । मेरो लागि त निक्कै विशेष र महत्वपूर्ण छ । धेरै लामो समयपछि दर्शक माँझ पुग्दैछु । कृमा भन्दा बढी स्क्रिन स्पेस मिलेको छ ।’ अदितिले भनिन् ।

‘मेरो व्यक्तिगत जीवन र सिनेमामा निर्वाह गरेको चरित्र बिल्कुलै फरक छ । लेटाङ गाउँको एउटा युवती । जो पढे -लेखेको छ । बोल्ड, आफ्नो निर्णय आफै लिन सक्ने । कसैसंग नडराउने । बलियो र केन्द्रिय चरित्र छ । कृमा निभाएको चरित्र भन्दा भिन्न छ । मेरो अनुभवमा कृमा भन्दा बाबरी चरित्र निभाउन एकदमै गाह्रो भएको थियो । आफ्नो कम्फर्ट जोनदेखि बाहिर निस्किनु परेको थियो ।’ अदितिले आफ्नो चरित्रबारे प्रष्ट्याइन ।

‘बाबरी’ दोस्रो सिनेमा भएका कारण अदिति आफ्नो मनमा आशा र डर दुवै रहेको बताउछिन ।

‘मेरो दोस्रो सिनेमा भएकाले तनावपनि छ । डेब्युको लामो समयपछि दर्शक माँझ पुग्दैछु । डरपनि छ । आशावादीपनि छु, दर्शकले साथ् मिल्नेमा । दर्शकको आशालाई छुन सकिएला कि नाइँ भन्ने प्रश्नपनि उब्जिएको छ । आशा छ दर्शकले साथ् दिनुहुनेछ ।’ अदिति आशावादी सुनिइन ।

सुरेन्द्र पौडेलको निर्देशनमा बनेको सिनेमामा अदितिले धिरज मगर र धिरज नाडकरसंग जोडी बाँधेकी छन् । त्रिकोणात्मक प्रेमकथाको सिनेमामा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो ठुंगोनको पनि अभिनय छ ।

सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा/सुजन चापागाईं/अनमोल गुरुङको संगीत र निर्देशक पौडेलको सम्पादन छ ।

बाबरी फिल्म्सको व्यानरमा निर्मित सिनेमामा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीको निर्माण छ ।