१३ बैशाख २०८१, बिहीबार

पार्टीले जिम्मेवारी दिएमा पछि हट्दिनँ : करिश्मा मानन्धर

Karisma 6

अभिनेत्री करिश्मा मानन्धरले अध्यक्ष केपी शर्मा ओलीको प्रेरणाले नेकपा (एमाले)मा प्रवेश गरेको बताएकी छन् ।

मंगलबार आयोजित एक कार्यक्रममा एमाले प्रवेश गर्दै मानन्धरले एमाले साँचो अर्थमा मुलुकको समृद्धि र विकासका लागि काम गरिरहेको पार्टी भएकाले आफ्नो रोजाइमा परेको बताएकी हुन् ।

केही समय डा.बाबुराम भट्टराई तत्कालीन नयाँ शक्तिमा रहेकी मानन्धरले देशभर एमालेप्रति सद्भाव राख्ने व्यक्ति बढी भएकाले पनि एमाले प्रवेश गरेको बताइन् ।

एमाले प्रवेश गर्नुको कारण खुलाउँदै उनले भनिन्,“एमाले प्रवेश गर्नुको पहिलो कारण त अध्यक्ष ओली नै । उहाँको इनर्जी र प्रेरणा नै हो । ६ महिनाको अन्तरालमा मैले उहाँलाई दुईपटक भेटेँ । उहाँको इनर्जी देखेर मलाई ताज्जुबै लाग्छ । अध्यक्ष ओलीलाई फुर्काउन भनेको होइन, नेता भनेको जनताको पथप्रदर्शक हो । उहाँको गुणगान नगाउने मान्छे नै छैन ।”

त्यस्तै कुनै पदका लागि आफू एमालेमा नआएको पनि उनको भनाइ छ । “पार्टी प्रवेश गर्दा मैले कुनै सौदाबाजी होइन । मसँग कुनै पनि आग्रह पनि छैन, कुनै ठोस पनि माग छैन । मलाई कुनै पद चाहिएको छैन । नितान्त एउटा कार्यकर्ताका रुपमा हजुरहरुसँग जोडिन आएको छु । यदि मेरो मूल्याङ्कन गरेर पार्टीले कुनै जिम्मेवारी दिने हो भने म पछि हट्दिनँ है,” उनले भनिन् ।

यसैगरी, एमाले प्रतिपक्षमा रहेर पनि सशक्त भूमिका निर्वाह गरिरहेको मानन्धरले बताइन् ।