१५ चैत्र २०८०, बिहीबार

आयोगको काम गठबन्धनको खटपट मिलाउने हो ? : ओली

kp oli uml

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग पाँच दलीय गठबन्धनको पेवा बन्न लागेको आरोप लगाएका छन् । मतपत्रमा निर्वाचन चिन्ह र मनोनयन दर्ताका लागि छुट्याइएको दुई दिनको समयले आयोग गठबन्धनको पेवा बनेको पुष्टि भएको बताए ।

मतपत्रमा निर्वाचन चिन्हका लागि प्रयोग गरिने रंग हरियो मात्रै बनाउनु एमाले प्रति लक्षित गरेर आएको बताए । नेकपा (एमाले) इलामले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले भने, “पूरै मतपत्र हरियो बनाउने रे ! निर्वाचन आयोगले एउटा पार्टीको पक्षमा रहेर काम गर्ने होईन निष्पक्ष भएर काम गर्ने हो ।

अहिले निर्वाचन आयोगले चुनाव चिन्हमा रङ कुन दिने भन्दा रूखको रङ दिने रे । रूख पनि हरियो पार्ने अरे, सूर्य पनि हरियो पार्ने । कस्तो अचम्मको निर्वाचन आयोग देखा पर्यो ।”

निर्वाचन आयोगले उम्मेदवारी मनोनयनको लागि छुट्याइएको दुई दिन समयको उनले विरोध जनाए ।

उनले भने, “मनोनयनको लागि दुई दिन समय दिने भो । दुई दिन चाहियो ? पाँच दलीय गठबन्धनमा खटपट परेर एकदिनमा नभ्याइन सक्छ, कुरो नमिल्न सक्छ, भोलिपल्टको पनि समय दियो । अहिलेसम्म कहिले दुई दिन मनोनयनका लागि समय दिएको सुन्नुभएको छ ? देख्नु भएको छ ? जहाँपनि मनोनयन एकै दिन हुन्छ । विश्वभरि मनोनयन एकै दिन हुन्छ । नेपालमा दुई दिन मनोनयन ।”

पाँच दलको खटपट मिलाउने काम निर्वाचन आयोगको हो भन्दै उनले प्रश्नसमेत गरेका थिए ।