१४ बैशाख २०८१, शुक्रबार

पार्टी सदस्यबाट निलम्बित माओवादी केन्द्रका कर्णाली प्रदेश सांसद विष्ट

Thammar bahadur bishta

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का कर्णाली प्रदेश सांसद ठम्मरबहादुर विष्टलाई पार्टी सदस्यबाट निलम्बन गरिएकाे छ । संसदीय दल कर्णाली प्रदेशको बैठकले सांसद विष्टलाई निलम्बन गरेको हाे ।

दलका नेता महेन्द्रबहादुर शाहीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा विष्टले निरन्तर दलको विधान विपरितका अभिव्यक्ति र गतिविधि गर्दै आइरहेको बताउँदै उहाँलाई निष्कासन गरेको उल्लेख गरिएको छ ।

‘प्रस्तुत विषयमा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलका सदस्य मा ठम्मरबहादुर विष्टले निरन्तर दलको विधान विपरितका अभिव्यक्ति र गतिविधि गर्दै आइरहेको एवं प्रदेश सभा सदस्यबाट राजीनामा समेत पेश गरेको सन्दर्भमा यही चैत्र ३ गते प्रदेश सभा दलको बैठक सम्पन्न भयो ।

उक्त बैठकले राजीनामा फिर्ता लिएर नियमित कार्यमा क्रियाशील हुन उहाँलाई दिएको निर्देशनको अवज्ञा गरेकाले दलको सदस्यबाट निलम्बन गरिएको सूचित गरिन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।