४ बैशाख २०८१, मंगलवार

अध्यक्ष प्रचण्डको दाबी माओवादी केन्द्र १ नम्बर पार्टी हुने सम्भावना बढ्यो

61c86f1722925 prachanda photo
फाइल फोटो

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादी केन्द्र १ नम्बर पार्टी हुने सम्भावना बढेको दाबी गरेका छन् ।

देशव्यापी निर्वाचन अभियानमा रहँदा देखिएको जनताको उभारले त्यसको संकेत गरेको प्रचण्डले बताए ।

“२०६४ सालको चुनावमा ५ सिट जित्छ माओवादीले भन्थे ठुला दलहरूले । कहिले १० सिटसम्म भन्थे । तर, झन्डै बहुमत दिए, जनताले । प्रत्यक्षतर्फ त बहुमतै हो र अहिले २०७९ मा पनि सबैतिरको स्थिति हेर्दा हामी पहिलो पार्टी हुने सम्भावना बढिसक्यो,” प्रेस सेन्टर कास्कीले पोखरामा आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले भने ।

उनले संविधान र लोकतन्त्र बचाउँदै उत्पीडित जाति, वर्ग र समुदायको अधिकारको पक्षमा उभिएको दल माओवादी भन्ने जनताले बुझेको बताए ।

सोही कारण मधेस प्रदेशदेखि जताततै माओवादीमा जनताको उभार आएको उनको भनाइ छ ।

“मधेसको ४–५ वटा जिल्ला गएँ । एउटै जिल्लामा हजार १२ सय जना शिक्षक बुद्धिजीवी माओवादीमा प्रवेश गर्नुभएको छ,” प्रचण्डले भने,“हिजो सिन्धुलीमा धेरै मानिस प्रवेश गर्नुभएको छ । साथीहरूले पहिलो पार्टी हुने भन्नुभएको छ, त्यो पनि विश्वासिलो आधारले ।”

उनले माओवादीलाई कसैको वैशाखी आवश्यक नभएको र आफ्नै बलमा निर्वाचन लड्ने बताए ।