२१ बैशाख २०८२, आईतवार

गाई बेच्ने कमल थापा खराब नेता हुन्ः रेखा थापा

rekha kamal

राप्रपाकी नेतृ रेखा थापाले देशको यो अवस्था आउनुमा नेता मात्रै नभएर जनता पनि दोषी भएको बताएकी छन् ।

ललितपुरमा राप्रपाले आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्दै थापाले जनताले पटकपटक एउटै व्यक्तिलाई जिताइराख्ने परिपाटीले देशको यो अवस्था आएको टिप्पणी गरिन् । उनले प्रश्न गरिन्, ‘जहिले देउवा, ओली र प्रचण्ड नै आइरहने हो भने बाहिर बसेर व्यवस्था ठिक भएन । नेताले देश डुबाए भनेर किन झगडा गर्ने ?’

उनले अब जनताले आत्मसमीक्षा गरेर निर्णय लिनुपर्ने बेला आएको बताइन् । युवापुस्ता राजनीतिमा आएन भनेर गाली गर्नेहरुले एकपटक स्थानीय तहदेखि संघसम्मको निर्वाचनमा राप्रपालाई साथ दिनुपर्ने थापाको भनाई थियो ।

उनले भनिन्, ‘जनता अहिलेको नेतृत्वप्रति निराश हो भने तीनै तहको चुनावमा तपाई हाम्रो अग्नीपरीक्षा सुरु भएको छ ।’राप्रपा देश र विचार बेच्ने पार्टी नभएको उल्लेख गर्दै नेतृ थापाले हिजो राजतन्त्र निरंकुश भयो भनेर नारा लगाउनेहरु नै अहिले निरंकुश सावित भएको टिप्पणी गरिन् ।

उनले भनिन्, ‘हिजो गणतन्त्र ल्याउँछौँ भन्नेले राजतन्त्र निरंकुश शासन भयो ढाल्नुपर्छ भन्थे । एकपल्ट दिमाग लगाउनुस त । प्रचण्ड ३४, ३५ वर्ष भयो हैन माओवादी अध्यक्ष बनेको ? ओलीलाई हेर्नुहोस वा देउवालाई नै हेर्नुहोस् । अहिले त उनीहरुले पार्टीलाई विचारको बन्दी बनाएका छन् ।’

शीर्ष दलका नेताहरु जत्तिकै कमल थापा पनि यो अवस्था आउनुमा जिम्मेवार रहेको उनको भनाई थियो । कमल थापाले गाई बेचेको आरोप लगाउँदै उनले भनिन्, ‘कमल थापाले गाई बेचेका हुन् । आज कमल थापाको कारण हाम्रो पार्टी जिर्ण भएको छ । हाम्रै पार्टीभित्र खराब नेता थियो त कमल थापा । आज पार्टीको ओ अवस्था हुनुको श्रेय गाई बेच्ने कमल थापालाई जान्छ ।