१२ बैशाख २०८१, बुधबार

मन लागेछ भने फेरी हेर्नु होला भन्दै प्रकाश सपुतले अन्तत: विवादित दृश्य हटाएर ‘पिर’ फर्काए

pir

गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ विवादमा आएपछि युट्युबबाट हटाएर केही दृश्य सम्पादन गरी पुनः नयाँ अपलोड गरेका छन्।

नयाँ भिडियोमा विवादित यौनकर्मीको दृश्य हटाइएर अपलोड गरिएको छ।

माओवादीका पूर्वलडाकु महिला देह व्यापारमा संलग्न भएको दृश्य काटेर शनिबार युट्युबमा पुनः अपलोड गरिएको हो। देहव्यापारमा लागेको दृश्यबारे सम्बन्धित पक्षले आपत्ति र विरोध जनाएपछि त्यसलाई हटाएर नयाँ भिडियो अपलोड गरिएको सपुतले जनाएका छन् ।

त्यो दृश्यले मुलुक परिवर्तनका लागि ज्यानको बाजी थापेर लडेका महिलासहितका माओवादी लडाकु र जनयुद्धकै अपमान गरेको भन्दै नेकपा माओवादी केन्द्रका नेताहरूले व्यापक विरोध गरेका थिए।

युट्युबमा यौनकर्मीको दृश्य काटेर नयाँ अपलोड गरेपछि सपुतले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्, ‘७ दिनमा #पिर करोड़ पटक हेरिएको छ । हाम्रो प्रयास को ईतिहास र तपाईको प्रेम को ईतिहास निरन्तर दोहोरीएको छ । एउटा सर्जक र उसको टिमका लागि र समग्र व्यवसायिक संगित बजारका लागि यो अपार सफलता हो । तर आगामी दिनमा आउन सक्ने असफलता पनि सामान्य लागोस भनेर मैले आफ्नो सफलतालाई सामान्य रुपमा लिन थालेको छु । यधपि तपाईको अमुल्य शुभेच्छा मेरो लागि असामान्य छ । मैले आफ्नो क्षेत्रमा जबरजस्त उपस्थिती र स्थान बनाएको छु । रेकर्डहरु बनाएको छु । सपना र संघर्ष पछिको यो सफलता भने सामान्य होईन । कहिले काहि त लाग्छ – भयो अब ! पुग्यो । I’m done !’

‘नियोजित रूपमा माओवादी आन्दोलनलाई बदनाम गर्न खोजिएको भन्ने बुझिने र त्यसले उठाएको अन्य यथार्थ विषयहरू विषयान्तर भइरहनेजस्तो भयो’, नयाँ भिडिओ अपलोड गरेपछि प्रकाशले भनेका छन्, ‘त्यसैले कुनै दबाब/प्रभावले नभएर यो बीचमा  आएका तपाईंको प्रतिक्रिया,  अग्रज स्रष्टा–सर्जकहरूको सुझाव।  लेखक, पत्रकार, समीक्षकहरूको समीक्षा र सम्बन्धित समूहको आत्मसम्मानलाई मनन गर्दै त्यो दृश्य सम्पादन गरिएको छ र नयाँ भिडिओ रिअपलोड गरिएको छ।’ 

पिर- पुनः नयाँ अपलोड. मन लागेछ भने फेरी हेर्नु होला । र कसैको आत्मसम्मान र सर्जकको ईमान्दारीतालाई मनन गर्दै आफ्नो प्रतिक्रिया दिनु होला । थप राजनितिकरण र अतिरन्जित नगरौ है त । धन्यबाद !