७ बैशाख २०८१, शुक्रबार

जस्ले पञ्चालयकालदेखि गणतन्त्रसम्म पटकपटक राज्यसत्ताको स्वाद चाखे

kamal
फाइल फोटो

राप्रपा नेपालका अध्यक्ष कमल थापा यस्तो पात्र हुनुहुन्छ जस्ले पञ्चालयकालदेखि गणतन्त्रसम्म पटकपटक राज्यसत्ताको स्वाद चाख्नु भएको छ । तर पछिल्लो समय भने उहाँका लागि प्रतिकुल सावित भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वबाट हात धुनुपरेका थापा संसदीय राजनीतिमा पनि जनताले किनारामा पुग्नुभएको छ ।

दक्षिणपन्थी विचारधाराका कडा समर्थक थापाले राजतन्त्र रहुन्जेल पटकपटक अवसर पाइरहनु भयो । २०५२ सालमा पहिलो पटक मन्त्री बनेका थापा त्यसयता कहिले पनि पछि फर्केर हेर्नु परेन । पूर्वराजा ज्ञानेन्द्र नेतृत्वको सरकारमा गृहमन्त्री बन्ने अवसर पाएका थापा गणतन्त्र स्थापनापछि पनि पटकपटक उपप्रधानमन्त्री सहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा पुग्नुभयो ।

कहिले राजसंस्था फर्काउने त कहिले हिन्दुराज्यको नारा अघि सारेर जनताको ध्यान तानिरहेका थापा पछिल्लो समय भने आफ्नै विचार, निष्ठा र नैतिकता नै दाउमा लगाएर नेकपा एमालेको सूर्य चिन्हबाट चुनाव लड्नु भयो । प्रतिनिधिसभा सदस्यमा पराजित हुनुअघि नै राप्रपाको नेतृत्वका लागि भएको चुनावमा पनि उहाँ पराजित भइसक्नु भएको थियो ।

पार्टीबाट पराजित भएपछि थापालाई शीर्ष नेतृत्वमा रहेर काम गर्ने अवसर थियो तर अध्यक्षमा राजेन्द्र लिंग्देल आएपछि थापालाई हजम भएन । उहाँले पुरानो पार्टी राप्रपा नेपाललाई ब्यूत्याउनु भयो ।

निर्वाचन आयोगबाट थापाको पार्टीले तिर चुनाव चिन्ह पाएको थियो तर उहाँले पार्टीका अन्य नेतालाई तिर चुनाव चिन्हबाट लडाएर आफू भने एमालेको शरणमा पुगेर सूर्य चिन्हमा चुनाव लड्ने निर्णय गर्नु भयो । तर जनताले उहाँको निर्णयलाई अस्वीकृत गरिदिए । पार्टी र आम निर्वाचनबाट पराजित भएपछि अब थापा समग्रमै पतनको बाटोमा लागेको विश्लेषण भैरहेको छ।

सत्ता स्वार्थमा थापाले आफ्नो विचार, सिद्धान्त र निष्ठा सबैलाई तिलान्जली दिएको जानकारहरुको टिप्पणी छ ।

अविछिन्न शक्तिमा रहने लोभकै कारण थापाले राप्रपा त्याग्नु भएको थियो । आफैले एकीकरणको प्रक्रिया सुरु गरेर बलियो बनाउँदै ल्याएको पार्टीमा अध्यक्ष पदमा भएको पराजयलाई स्वीकार गर्न नसक्दा उहाँसँग अब राप्रपा पार्टी रहेन ।

फेरि राप्रपा नेपालकै नाममा गठन गरेको अर्को पार्टी यसपटकको निर्वाचनमा थापाले देखाएको उग्रमहत्वाकांक्षाकै चेपुवामा परेर बिलयको बाटोतर्फ उन्मुख देखिन्छ । समग्रमा हेर्ने हो भने पार्टीको निर्वाचन र आम निर्वाचनमा थापाले धेर्यता गुमाउन पुग्दा पतनउन्मुख बन्दै जानुभएको सहज अनुमान गर्न सकिन्छ ।