१५ बैशाख २०८१, शनिबार

तीन तहकै निर्वाचन गठबन्धन गरेर प्रतिष्पर्धा गर्ने बताइरहेका बेला लुम्बिनी प्रदेशका काँग्रेस नेताहरु विपक्षमा

Congress elecation Abhiyan

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तीन तहकै निर्वाचन गठबन्धन गरेर प्रतिष्पर्धा गर्ने बताइरहेका बेला लुम्बिनी प्रदेशका काँग्रेस नेताहरु भने गठबन्धनको विपक्षमा छन् ।

गठबन्धन गरेर चुनावमा जाँदा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई फाईदा भएपनि काँग्रेसलाई घाटा हुने उनीहरुको तर्क छ । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले केन्द्रबाट गठबन्धन लादिए त्यो स्वीकार्य नहुने बताउनुभयो ।

पार्टी सभापति शेरबहादुर देउवा गठबन्धनको पक्षमा रहे पनि स्थानीय नेता कार्यकर्ता त्यसको विपक्षमा देखिएका हुन् । संस्थापनइतर समूहमा रहेका लुम्बिनी प्रदेश सभापति पुनले काँग्रेस एक्लै चुनावमा जाने बताउनुभयो ।

कार्यकर्ताको भावना पनि काँग्रेस एक्लै चुनावमा जानुपर्ने रहेकाले नेतृत्वले कार्यकर्ताको भवना बुझेर निर्णय गर्ने उहाँको विश्वास छ । कार्यकर्ताको भावना विपरित केन्द्रबाट गठबन्धन गरिए त्यो निर्णय स्वीकार्न नसकिने पुनले बताउनुभयो ।

गठबन्धनको निर्णय पार्टीको स्थानीय कमिटीलाई दिनुपर्ने तर्क उहाँको तर्क छ । ुकहीं कतै आवश्यकता ठानिए स्थानीय कमिटीले निर्णय गर्न सक्ने गरी केन्द्रबाट खुला गरिनुपर्ने बताउदै उहाँले आमरुपमा भने गठबन्धन सम्भव नरहेको जिकिर गर्नुभयो ।

काँग्रेसले अहिले लुम्बिनी प्रदेशमा पालिकाहरुमा चुनाव केन्द्रित रणनीति बनाइरहेको छ । काँग्रेस नेता फणिन्द्र शर्माले गठबन्धन गर्ने कि नगर्ने भन्ने कुरा कार्यकर्ताको मनोभावना बुझेपछि थाहा हुने बताउनुभयो ।

निर्वाचन सम्भाव्यता अध्ययन तथा रणनीति योजना निर्माण समिति संयोजक तथा काँग्रेस रुपन्देही उपसभापति डा अनिता शाहले निर्वाचन संभाव्यता अध्ययनका क्रममा अधिकांश कार्यकर्ताको मत गठबन्धनको विपक्षमा रहेको बताउनुभयो ।

तर, लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीमा भने स्थानीय कमिटीको निर्णका आधारमा आगामी स्थानीय तहमा काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जसपाबीच गठबन्धन गर्ने सहमति भएको छ ।