१३ बैशाख २०८१, बिहीबार

लुम्बिनी प्रदेश सरकारले राप्ती प्राविधिक शिक्षलयको भवनलाई प्रदेश राजधानी संरचनामा बदलेपछि अध्ययनरत विद्यार्थी समस्यामा

Rapti technology.jpg

लुम्बिनी प्रदेश सरकारले राप्ती प्राविधिक शिक्षलयको भवनलाई प्रदेश राजधानी संरचनामा बदलेपछि त्यहाँ अध्ययनरत विद्यार्थी समस्यामा परेका छन् । राजधानी बुटवलबाट देउखुरी सार्दा प्रदेश सरकारले राप्ती प्राविधिक शिक्षालयको भवन प्रयोग गरेको छ । जसका कारण त्यहाँ अध्ययनरत झण्डै एक हजार प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थी समस्यामा परेका हुन् ।

केही हप्ताअघि प्रदेश सरकारले लालमटियामा रहेको प्राविधिक शिक्षालयको भवनबाटै आफ्नो काम गर्न थालिसकेको छ । गत आइतबार शपथ भएर सोमबारबाट प्रदेश सभा अधिवेशन पनि सुरु भइसकेको छ । 

दुई वर्ष अघि २०७७ असोज २० गते लुम्बिनी प्रदेशसभाले दाङको देउखुरीलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो । त्यसपछि राप्ती प्राविधिक शिक्षालयमा राजधानीका पूर्वाधार बनाउने निर्णय भयो । 

राजधानीको संरचना रहने भएपछि तीन दशकअघि लालमटियामा स्थापित राप्ती प्राविधिक शिक्षालय गढवा गाउँपालिका ३ मा ल्याइएको हो । गत तिहार र छठपछि शिक्षालयले आफ्नो कक्षा यहीँबाट चलाएको छ ।

व्यवस्थित संरचनाबाट नयाँ ठाउँमा आउँदा शिक्षालयका विद्यार्थीहरुले असहज मानिरहेका छन् । राप्ती प्राविधिक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङको तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी रुकुमका अनिलकुमार बुढाथोकीले नयाँ ठाउँमा प्राक्टिकल गर्न समस्या रहेको बताए । “झण्डै तीन वर्ष त्यहाँ बसियो । अहिले यता आइएको छ । सबै संरचना बनिसकेको छैन”– उनले भने, “त्यहाँ विषय अनुसारको संरचना सेट भइसकेको थियो । त्यसै आधारमा हामीले प्राक्टिकल गथ्र्यौँ । अब प्राक्टिकल गर्न समस्या छ ।” 

लालमटियामा पूर्वपश्चिम राजमार्गसामुन्ने नै प्राविधिक शिक्षालय रहेको थियो । अहिले स्थानान्तरण भएको ठाउँ राजमार्गबाट अलि दक्षिण पर्दछ । लालमटियाबाट राजमार्ग हुँदै पाँच किलोमिटर पश्चिम गएपछि सिसहनिया बजार आउँछ । सिसहनिया बजारबाट राजमार्ग छोडेर दक्षिण लागि सात किलोमिटर दूरीमा शिक्षालय आउँछ । 

यहाँ आउन नेपालकै दोस्रो लामो राप्ती पुल तर्नुपर्दछ । ग्रामीण क्षेत्र भएकाले गढवाका घरहरु व्यवसायिक प्रायोजनमा लगाउने गरी बनाइएका छैनन् । राजमार्ग क्षेत्रबाट तुलनात्मक रुपमा पर र ग्रामीण क्षेत्रमा आउँदा कोठाको पनि समस्या रहेको डिप्लोमा इन इन्जिनियरिङ छैटौँ सेमेष्टरकी एलिना पोखरेलले बताइन् । 

“राजमार्गबाट टाढा भएकाले केही गाह्रो भयो । सुरुमा त स्कुल बसमा आउने जाने गथ्र्यौँ, अहिले यतै बस्न थालेका हौं”– उनले भनिन् “उताभन्दा यता बसाइ अलि असजिलो छ । कोठाका साइज उता भन्दा सानो, पानी, बाथरुमको अलि समस्या भयो ।” 

लालमटियामा प्रदेश सरकार र सभाले काम सुरु गरिसक्दा यता गढवामा शिक्षालयका सबै सामान सेटअप भइसकेका थिएनन् । राप्ती प्राविधिक शिक्षालयका प्रमुख शालिकराम डाँगीले अहिले सामान व्यवस्थापन भइरहेकाले अबको दुई महिनामा संरचना तयार हुने बताए । 

“कक्षाकोठा र कार्यालय सेटिङ भइसकेको छ । केही मिलाउन बाँकी छ । आउनेबित्तिकै प्रयोगात्मकको लागि वर्कशप र क्वार्टर अपुग थियो”– उनले भने, “वर्कशप लगभग बनिसकेको छ । क्वार्टर बन्ने क्रममा छ । व्यवस्थित गर्न समय लाग्ला ।” 

डाँगीले पठनपाठनलाई प्रभाव नपर्ने गरी मर्मत र सेटअपको काम भइरहेको बताउनुभयो । २०५० सालमा स्थापित राप्ती प्राविधिक शिक्षालयमा अहिले ७९२ विद्यार्थी अध्ययन गर्न सक्ने क्षमता छ । कोरोनाका कारण बीचमा परीक्षा नियमित नहुँदा हाल एक हजारभन्दा बढी विद्यार्थी छन् । 

शिक्षालयमा कृषि, सिभिल इन्जिनियरिङ र स्वास्थ्यका प्राविधिकतर्फ नौ वटा कार्यक्रम छन् । जसमध्ये ६ वटा डिप्लोमाका र तीनवटा प्री–डिप्लोमाका शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको शिक्षालय प्रमुख डाँगीले जानकारी दिए । 

राप्ती प्राविधिक शिक्षालय सिटिइभिटीइको आंगिक शैक्षिक संस्था हो । शिक्षालयको स्थानान्तरका लागि प्रदेश सरकारले खर्च बेहोरेको छ । गढवा गाउँपालिका–३ मा सरस्वती माध्यमिक विद्यालयको नाममा १८ बिघा जग्गा रहेको छ । अहिले सबै जग्गा विद्यालयको नाममा रहेपनि संघीय शिक्षा मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट राप्ती प्राविधिक शिक्षालयले १४ विघा जग्गाको भोगाधिकार पाएको छ । 

विद्यालयले चार विघा जग्गा उपयोग गरेको छ । सरस्वती मावि भवन प्रविधिक शिक्षालयले उपयोग गरेपछि गाउँपालिकाले बनाएको अस्थायी भवनमा विद्यालय सञ्चालन भएको छ । स्थायी भवन निर्माण पनि सुरु भएको छ । शिक्षालय प्रमुख शालिकराम डाँगीले नयाँ गुरुयोजना पनि बनेकाले केही वर्षमा गढवामा लालमटियाको भन्दा आधुनिक र व्यवस्थित संरचना बन्ने बताए ।