१३ बैशाख २०८१, बिहीबार

देशभर एमालेले जितेका महानगरपालिका र उपमहानगरपालिकामा एकीकृत समाजवादीको दाबी

madhav

सत्ता गठबन्धनमा एकीकृत समाजवादीले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा ०७४ मा एमालेले जितेका महानगरपालिका र उपमहानगरपालिकामा आफूले टिकट पाउनुपर्ने माग अघि सारेको छ ।

आगामी चुनावसम्मै गठबन्धनलाई निरन्तरता दिन दलहरु सहमति नजिक पुगेको बेला एकीकृत समाजवादीले २०७४ मा एमालेले जितेका महानगरपालिका र उपमहानगरपालिकामा आफ्नो पार्टीले टिकट पाउनुपर्ने अडान लिएको हो ।

चुनावको मिति नजिकिएसँगै प्रायः सबै दलहरू चुनावी रणनीति र सम्भावित तालमेल तथा उपयुक्त उम्मेदवारको खोजीमा लागेका छन् । मुलुक संघीय संरचनामा गएपछि दोस्रोपटक स्थानीय तहको निर्वाचन हुँदैछ ।

जसअनुसार देशभरका ७५३ स्थानीय तहमध्ये ६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकाको नेतृत्व कसले हत्याउला भन्ने चासो बढ्दै गएको छ । सोही कारण महानगरपालिका र उपमहानगरपालिकामा आफ्नो वर्चस्व स्थापित गर्ने प्रयासमा प्रमुख राजनीतिक दलहरूको विशेष ध्यान केन्द्रित हुन थालेको छ ।

चुनावी परिणाम आफ्नो पक्षमा पार्ने रणनीतिसहित गाउँ–गाउँमा पुगेर समग्र अवस्थाको रिपोर्टिङ लिने र जीतको कसरतलाई तीव्रता दिइरहेका छन् ।

प्रमुख दलहरु काँग्रेस, एमाले, माओवादी केन्द्र र जसपाले महानगरपालिकाको हकमा पार्टी केन्द्रबाटै उम्मेदवार छान्ने नीति सार्वजनिक गरिसकेका छन् ।