१४ बैशाख २०८१, शुक्रबार

क्रमशः घट्दै मुलुकको ढुकुटीमा अमेरिकी डलर

dollar

मुलुकको ढुकुटीमा अमेरिकी डलरको हिस्सा क्रमशः घट्दै जाँदा त्यसको प्रभाव समग्र अर्थतन्त्रमा बढ्दै गएको छ । वैदेशिक मुद्रा सञ्चिति घट्दो क्रममा रहेको बेला विदेशी विनिमयको गैरकानुनी रुपमा प्रयोग गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ । 

विभागले रतुवामाई नगरपालिका–७ मोरङका पुष्कर श्रेष्ठ र विनीता लिम्बूविरुद्ध ‘विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसार काठमाडौँ जिल्ला अदालतमा सोमबार मुद्दा दायर गरेको आज जारी विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूले नेपालमा प्रतिबन्धित वानएक्सवेट, विनाश, एड्भी क्यास, क्वाइनबेस र प्याक्फुल जस्ता माध्यमको प्रयोग गरी सामूहिक मिलेमतोमा अमेरिकी डलरको गैरकानुनी कारोबार गरेको पाइएको छ । विभागका अनुसार आरोपितले विभिन्न एप तथा गैरकानुनी माध्यममार्फत रकम राख्ने वा पठाउने गरेको पाइएको छ । 

उनीहरूले अमेरिकी डलरको सटही तथा क्रिप्टोमा लगानीकर्ताको रुपमा रहेको अनुसन्धानबाट खुलेको छ । आरोपी श्रेष्ठले मेगा बैङ्कबाट रु ८६ लाख ८३ हजार ४२९, सिटिजन बैङ्कबाट रु दुई करोड ५१ लाख ७६ हजार ९९, एनआइसि एसिया बैङ्कबाट रु एक करोड ८२ लाख ४९ हजार ८८९ र राष्ट्रिय वाणिज्य बैङ्कबाट रु दुई करोड ३६ लाख ६२ हजार ५३९ गरी कूल रु सात करोड ५७ लाख ७१ हजार ९५८ बराबरको रकम हिनामिना गरेको पाइएको छ ।

यस्तै, आरोपी लिम्बूले एनआइसि एसिया बैङ्कबाट रु दुई करोड १६ लाख ९८ हजार २४ बराबरको रकम हिनामिना गरेको देखिन्छ । विभागले  कूल रु नौ करोड ७४ लाख ६९ हजार ९८३ बराबरको विदेशी विनिमयको अपचलन गरेको अध्ययनमा पत्ता लगाएको छ ।

विभागले आरोपीलाई बिगो जफत गरी सजाय र तीन वर्षसम्मको कैद सजायको माग दाबी गर्दै मुद्दा दायर गरिएको छ । नेपाल राष्ट्र बैङ्कले २०७४ साउन २९, २०७५ चैत २६ र २०७८ भदौ २४ गते अवैध रुपमा विदेशी विनिमयको अवैध कारोबार नगर्न निर्देशन दिएको छ । यस्तै, नेपालमा गैरकानुनी रहेको क्रिप्टोकरेन्सीको कारोबार नगर्न समेत पटक–पटक केन्द्रीय बैङ्कले निर्देशन दिएको छ । रासस