७ बैशाख २०८१, शुक्रबार

अन्तर्राष्ट्रिय चलखेल रोक्न चुनावी ब्याटल जित्नै पर्छ : प्रचण्ड

Prachanda 1

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा क्रान्तिकारी शक्तिलाई पराजित गर्नेगरी अन्तर्राष्ट्रिय शक्तिको चलखेल बढेको बताउनुभएको छ। आइतबार विराटनगरमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।

‘चुनावमा थोरै पनि क्रान्तिकारी विचार राख्ने शक्तिलाई समाप्त गर्ने र दुई पार्टी मात्र बनाउने अन्तर्राष्ट्रिय प्रयत्न जारी छ,’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘त्यसैले आगामी चुनावलाई ब्याटलकै रुपमा लिएर यो ब्याटल जित्नै पर्ने अवस्था छ।’

अन्तर्राष्ट्रिय शक्तिको पछिल्लो गतिविधिलाई सामान्य रुपमा नलिन उहाँले कार्यकर्तालाई आग्रह गर्नुभयो। अध्यक्ष प्रचण्डले काँग्रेस र एमालेलाई जस्तो चुनाव हार्ने छुट आफूहरुलाई नभएको बताउनुभयो। माओवादीले हारे संस्थागत भइनसकेको संघीयता, गणतन्त्र र समावेशीका उपलब्धि हार्ने भन्दै सचेत भएर लाग्न उहाँले आग्रह गर्नुभयो।

‘शान्ति प्रकृयाका सबै काम पुरा नहुँदै र संघीयता र गणतन्त्र संस्थागत नहुँदै चुनाव हारेमा एउटा लामो अभियानमा जानुपर्ने हुनसक्छ,’ उहाँले भन्नुभयो। प्रचण्डले गठबन्धनमा भर परेर चुनावमा जानेतर्फ सोच्दै नसोच्न आग्रहसमेत गर्नुभयो। आफ्नै बलबुतामा जित्नु पर्ने उहाँको भनाइ छ।

अध्यक्ष प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गरेर आन्दोलन, पार्टी र सरकार जोगाउन सम्भव भएको दाबी गर्नुभयो। बढी क्रान्तिकारी बन्न खोज्दा विगतमा भएको कटुवाल काण्ड र त्यसअघि गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाउँदा पार्टी र आन्दोलनमा पुगेको क्षति स्मरण गरेर एमसीसी सम्बन्धी निर्णय लिइएको उहाँले बताउनुभयो।

माओवादी कार्यकर्तामा वैचारिक अस्पष्टता, संगठनात्मक अराजकता र व्यक्तिवाद हाबी हुन थालेपछि पार्टीलाई क्रान्तिकारी विचारसहित रुपान्तरण गर्न आठौं महाधिवेशनले स्पष्ट नीति लिएको उहाँको भनाइ छ।
एमालेसँग पार्टी एकता गरेपछि विशाल कम्युनिष्ट पार्टी बनेको र कार्यकर्ता रिल्याक्स गरेर बस्दा वैचारिक धरातल कमजोर भएको उहाँको भनाइ छ।

एमालेसँग तालमेल गरेर केपी ओलीलाई नायक बनाउने प्रयास गरेको तर खलनायक मात्र भएको टिप्पणी प्रचण्डले गर्नुभयो। ‘नायक बन्छन् कि भनेर सोचियो। तर, मिस्टर केपी त खलनायक भएर देखिए,’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘पार्टीभित्र खलनायक भएर उभिएपछि संघर्ष सुरु ग¥र्यौं, संघर्ष सुरु गर्नासाथ उनले संसद विघटन गरेर परिवर्तनका उपलब्धि माथि नै प्रहार गरे।’

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले निर्वाचनमा सबैतिर जित्ने गरी माओवादीले राजनीतिक पहल लिनुपर्ने बताउनुभयो। उहाँले आफ्नै बलबुतामा चुनाव जित्ने र गठबन्धनमा मैत्रीपूर्ण सम्बन्ध बनाउनेतर्फ ध्यान दिन आग्रह गर्नुभयो।

प्रशिक्षणमा अर्थमन्त्री जनर्दन शर्मा, माओवादी केन्द्रका प्रदेश इन्चार्ज राम कार्की, केन्द्रीय अनुशासन आयोगका संयोजक टंक राईलगाायतले प्रशिक्षण मन्तव्य राख्नुभएको छ।