१३ बैशाख २०८१, बिहीबार

अमेरिकी सेना युक्रेनमा उत्रिए तेस्रो विश्व युद्ध हुने अमेरिकी राष्ट्रपतिको चेतावनी

Biden

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसी आक्रमणविरुद्ध अमेरिकी सेना प्रत्यक्ष उत्रिए त्यो तेस्रो विश्व युद्ध हुने चेतावनी दिएका छन् ।

उनले अमेरिकी सेना रुससँग लड्नुको अर्थ तेस्रो विश्व युद्ध हुने चेतावनी दिएका हुन् । अमेरिकी राष्ट्रपति बाइडेनले आफ्नो देशले युक्रेनमा रुसविरुद्ध प्रत्यक्ष रूपमा सैन्य हस्तक्षेप नगर्ने स्पष्ट पारे ।

नेटोको प्रत्येक भूभागलाई एकताबद्ध र पूर्ण शक्तिका साथ रक्षा दृढता व्यक्त गर्दै बाइडेनले युक्रेनमा रुस विरुद्ध भने युद्ध नलड्ने दोहोर्याए । नेटो र रुस बीचको प्रत्यक्ष टकराव तेस्रो विश्वयुद्ध हुने उनको भनाइ थियो ।

पछिल्ला दिनहरुमा बाइडन प्रशासनले रुस र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध आक्रामक प्रतिबन्ध अभियान पछ्याएको छ।

बाइडेनले रूसी मदिरा, समुद्री खाना र हीराको आयातमा प्रतिबन्धको घोषणा गरे र प्रतिबन्धहरूको सामना गरिरहेका धनीहरूको सूची थप बढाएका छन् ।

यता युक्रेनका आक्रमणको तेस्रो हप्ता आइपुग्दा रुसले युक्रेनको लुत्स्क, इभानो,फ्रान्किभस्क र डिनिप्रो शहरमा आक्रमण गर्दै आफ्नो आक्रमण विस्तार गरेको छ । राजधानी किभलाई रुसी सेनाले नजिकैबाट घेरेको बीबीसीले जनाएको छ ।