Close Me
३ माघ २०८१, बिहीबार

बाइडन प्रशासनद्वारा युक्रेनलाई साढे ७२ करोड डलरको सैन्य सहायता दिने तयारी

weapons

बहिर्गमन उन्मुख अमेरिकी राष्ट्रपति जो बाइडन प्रशासनले युक्रेनलाई साढे ७२ करोड डलर बराबरको सैन्य सहायता प्याकेज दिने तयारी गरेको रोयटर्सले जनाएको छ । राष्ट्रपतिका रूपमा दुई महिना पनि कार्यकाल बाँकी नरहेका बाइडनले आगामी जनवरीमा सत्ता छाडनुअघि जेलेन्स्की सरकारलाई बलियो बनाउने चाहना स्वरूप यस्तो गर्न लाग्नु भएको हो ।

यो नयाँ सैन्य सहायता प्याकेज अन्तर्गन युक्रेनलाई बारुदी सुरुङ, ड्रोन, स्टिन्गर क्षेप्यास्त्र र हिमार्स रकेट प्रणालीका लागि गोला बारुद लगायत अमेरिकी भण्डारमा रहेका हतियार आपूर्ति गर्ने योजना रहेको स्रोतलाई उल्लेख गर्दै रोयटर्सले जनाएको छ । हतियार प्याकेज सम्बन्धमा संसद्लाई सोमबारसम्ममा औपचारिक सूचना दिइने सम्भावना रहेको बताइएको छ । बाइडनले आपत्कालीन अवस्थामा मित्र राष्ट्रहरूलाई सहयोग गर्न भण्डारमा रहेका हतियार आपूर्ति गर्न सक्ने राष्ट्रपतिको अधिकार ‘पीडीए’ प्रयोग गर्दै उक्त सैन्य सहायता प्याकेज दिन लाग्नु भएको बताइएको छ । बाइडनसँग चार अर्बदेखि पाँच अर्ब डलरसम्मको हतियार सहायता दिन सक्ने कांग्रेस प्रदत्त पूर्वअनुमति अझै बाँकी रहेको जनाइएको छ ।

डेढ साताअघि मात्रै बाइडनले युक्रेनलाई अमेरिकाले आपूर्ति गरेको लामो दूरीको मार हान्ने क्षेप्यास्त्र रूसमाथि प्रयोग गर्न अनुमति दिनुभएको थियो भने त्यसकै भोलिपल्ट किएभले ती हतियार प्रयोग गरेको थियो ।

आगामी जनवरी २० मा नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्पले सत्ता सम्हालेपछि युक्रेनलाई दिइँदै आएको सहायता कटौती गर्न र यथास्थितिमा रूससँग सम्झौता गर्न दबाब दिन सक्ने आकलन गरिएको छ । उता रूस पनि निकै द्रुत गतिमा युक्रेनी भूभागभित्र अघि बढिरहेको र पछिल्लो एक महिनामा मात्रै उसले लन्डनको आधा भूभाग बराबरको युक्रेनी जमिन कब्जा गरिसकेको जनाइएको छ ।

यसैबीच बाइडनले इजरायललाई ६८ करोड डलरको हतियार बिक्री गर्न प्रारम्भिक सहमति जनाउनु भएको अल जजिराले उल्लेख गरेको छ । इजरायल र हिजबुल्लाहबीच युद्धविराम भएपछि गाजामा समेत युद्धविरामका लागि दबाब बढाउने अमेरिकी बाचाका बीच वासिङटनले तेल अभिभलाई थप हतियार बिक्री गर्न लागेको हो ।