Close Me
१३ माघ २०८१, आईतवार

युक्रेन र अमेरिकाबीच १० वर्षे सुरक्षा सम्झौतामा हस्ताक्षर, रुसबाट कब्जामा लिएको पैसा युक्रेनलाई दिइने

joe biden and zelensky

रुसको जफत गरिएको सम्पत्तिबाट युक्रेनलाई ५० अर्ब अमेरिकी डलर ऋण सहयोग उपलब्ध गराउन जी-सेभेन राष्ट्रहरू सहमत भएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई सहयोग गर्न जी-सेभेन पछि नहट्ने बताउँदा मस्कोले भने अत्यन्त पिडादायक प्रतिशोधात्मक कदम चाल्ने चेतावनी दिएको छ ।

जी सेभेन देशहरूले रुसको ३ सय २५ अर्ब डलर बराबरको सम्पत्ति जफत गरेकोमा त्यसबाट ब्याज बापत बर्सेनि करिब ३ अर्ब डलर आउने गर्दछ । यसमा विशेष कुरा के छ भने यो ५० अर्ब डलर रुसको जफत गरिएको सम्पत्तिबाट मात्रै दिइनेछ ।

युक्रेनलाई दिइने ५० अर्ब डलर ऋणको ब्याज सोही रकमबाट तिर्ने व्यवस्था मिलाइनेछ । रुसले युक्रेनमाथि आक्रमण गरेको विरोधमा जफत गरिएको उक्त रकम रुसी सेन्ट्रल बैंकको हो । रुसको कब्जामा लिइएको ३ सय २५ अर्ब डलरको सम्पत्तिको ब्याजबाट प्राप्त रकमबाट मात्रै जी ७ देशहरूले युक्रेनलाई सहयोग गर्ने भएका छन् ।

यदि कुनै कारणले रुसको पैसा छोड्नु पर्यो भने, सबै सदस्य राष्ट्रहरूले संयुक्त रूपमा युक्रेनलाई सहयोग गर्ने विचार गर्ने रिपोर्टमा बताइएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन बुधबार नै इटाली प्रस्थान गरेका छन् । मिडिया रिपोर्टका अनुसार बाइडेनले युक्रेनका राष्ट्रपतिसँग नयाँ सुरक्षा सम्झौतामा हस्ताक्षर गर्न सक्नेछन् । यो सम्झौताले अमेरिकाले भविष्यमा पनि युक्रेनलाई रक्षा र सुरक्षाको क्षेत्रमा सहयोग गरिरहने स्पष्ट पार्नेछ ।

यसैबीच जी सेभेन बैठकको साइड लाइनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति जो बाइडनले १० वर्षे द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । यो सम्झौतालाई किएभले “ऐतिहासिक” भनेको छ । सम्झौता अन्तर्गत अमेरिकाले युक्रेनलाई सैन्य र प्रशिक्षण सहायता प्रदान गर्ने छ ।

सम्झौतामा अमेरिकाले युक्रेनका पक्षमा युद्ध गर्न सेना पठाउने प्रतिबद्धता भने व्यक्त गरिएको छैन ।

    सम्बन्धित समाचार...