१६ चैत्र २०८०, शुक्रबार

बालुवामा राखेको नक्कली मुला वर्तमान सरकार: अध्यक्ष ओली

kp oli pokhara
फाइल फोटो

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई बालुवामा राखेको नक्कली मुलाको संज्ञा दिनुभएको छ ।

आज नेपाल निजामती कर्मचारी संगठनको ११ औँ राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार जराबिनाको मुला भएको बताउनु भएको हो ।

उहाँले सानो मुलाको पनि सानो जरा हुने उल्लेख गर्दै अहिलेको सरकार मात्र पाँच जनाको परमादेशले बनेको सरकार भएको र यसलाई उखेल्ने दिन कुरिरहेको बताउनुभयो ।

उहाँले सरकारलाई उखेल्न लाग्दा भागिरहेको उल्लेख गर्दै आगामी निर्वाचनबाट पूर्ण रुपमा उखेलिने बताउनुभयो । अध्यक्ष ओलीले आफ्नो कार्यकालमा नेपाली कांग्रेसका नेताहरुले कर्मचारीहरुलाई सरकारलाई सहयोग नगर्न दबाव दिएको दाबी गर्दै उनीहरुको सोच अलोकतान्त्रिक सोच भएको जिकिर गर्नुभयो ।

उहाँले निजामती कर्मचारीहरुले पूर्ण रुपमा सरकारलाई सहयोग गर्नुपर्ने भन्दै सरकार ठिक बेठिक छुट्याएर नबस्न आग्रह गर्नुभयो । अध्यक्ष ओलीले सरकार ठिक बनाउन राजनीतिक पार्टीहरु भएको बताउनु भयो ।

अध्यक्ष ओलीले अहिले सरकारमा रहेका केही मन्त्रीहरु परमादेशबाट झुक्किएर पावरमा पुगेको बताउनु भयो । उहाँले उन्मादले उन्मत्त भएर रेस्लिङमा पस्न लागेझैँ गरेर अहिलेका मन्त्रीहरु पावरको आडमा अहंकारी बनिरहेको बताउनु भयो ।

अध्यक्ष ओलीले उन्मत्त चिम्पान्जीहरु कुस्ती खेल्न छाती पिटेझैँ अहिलेका मन्त्रीहरु कुस्ती खेल्न जोरी खोजेझैँ गरिरहेको बताउनुभयो । उहाँले केही मन्त्रीहरुको काम लोकतन्त्रको हित हुने किसिमको नरहेको भन्दै आगामी निर्वाचनबाट सबै ऐंजेरु उखेलिने बताउनुभयो ।

अध्यक्ष ओलीले अहिले चुनावमा जान डराएकाहरु अद्यावधिक चुनावमा जाऔँ र नयाँ जनादेशबाट सरकार बनाउँ भन्दा प्रतिगमन भनेर रोइरहेको बताउनु भयो ।

अध्यक्ष ओलीले नेकपा एमालेलाई आगामी निर्वाचनमा पहिलाको जस्तो कमजोर नआँक्न चेतावनी दिनुभयो । उहाँले एमालेले आगामी निर्वाचनमा स्वीप आउट गर्ने दाबी गर्नुभयो । अध्यक्ष ओलीले एमालेले पाँच वर्ष सरकार सञ्चालन गरेको भए एक्लै ८० प्रतिशतभन्दा बढी भोट ल्याउने दाबी गर्दै चुनावबाट डराउने र एमालेबाट डराउनेहरुले कानून भन्दै रोएर आफ्नो सरकार ढालेको बताउनुभयो ।

उहाँले एमालेलाई अदालतबाट हटाउनेहरुले एमाले सकियो भन्दै गरेको उल्लेख गर्दै एमाले एउटा भेल भएको र भेलमा पस्नेलाई बढारेर लैजाने बताउनुभयो । उहाँले एमालेरुपी भेल पुनः सरकारमा आगामी निर्वाचनबाट आउने दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘कुनै पनि ठाउँमा हिजोको जस्तै परिणाममा एमालेको सन्दर्भमा हिजोको जस्तो परिणमको कसैले कल्पना नगरे हुन्छ । एमालेले स्वीप आउट गर्दैछ । एमालेलाई ५ वर्ष सत्ता स्ञ्चालन गर्न दिएको भए ८० प्रतिशतभन्दा बढी भोट एक्लै एमालेले ल्याएर बढारिदिन्थ्यो । त्यसैले कसैले ५ वर्ष कुर्न सकेनन् ।

यिनीहरुले सोचेका होलान् बीचमै परमादेशबाट एमालेलाई हटाइयो अब रोकिन्छ होला भनेर तर एमाले एउटा भेल हो । रोक्ने कोशिस ग¥यो कि बगाउँछ । त्यसकारण यो भेल निर्वाचनको माध्यमबाट अघि आउँदैछ ।’

अध्यक्ष ओलीले (नेकपा माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै आफ्नो सरकार एउटा टेकोले नबन्ने भएपछि अर्को टेको लगाएर बनाएको र उक्त टेको भाँचिएको बताउनुभयो ।

उहाँले स्वार्थी र कमजोर टेको परेकोले पूरा सरकार चलाउन नसकेको बताउनु भयो । अध्यक्ष ओलीले संसदले भत्ता खाने बाहेकको काम गर्न नसकेको पनि बताउनु भयो ।