Close Me
२९ मंसिर २०८१, शनिबार

अपत्यारिलो ढंगले सर्वोच्च अदालतमागोरु ब्याएको अध्यक्ष ओलीको टिप्पणी

kp oli pokhara

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा अपत्यारिलो ढंगबाट गोरु ब्याएको टिप्पणी गर्नुभएको छ ।

पोखरामा प्रेस चौतारी नेपालको नवौं महाधिवेशनमा अध्यक्ष ओलीले सर्वोच्च अदालतमा अहिले गोरु ब्याएको मात्र नभइ पाँच वटा गठबन्धनरुपी बाच्छा पाएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीको यो भनाइ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन अदालतले परमादेश दिएकोप्रति लक्षित हो । अध्यक्ष ओलीले अहिले संविधान, जनादेशको माहोल र जनतामा रहेको सार्वभौम सत्ताको मजाक गरिएको बताउनुभयो ।

अध्यक्ष ओलीले अहिले नेपालका राजनीतिक शक्ति दुई धारमा बाँडिएको बताउनुभयो । उहाँले राजनीतिक शक्तिहरु एउटा लोकतन्त्रको पक्षमा र अर्को जालीझेली षड्यन्त्रमा लागि परेको बताउनुभयो ।

अध्यक्ष ओलीले तत्कालीन नेकपाका बेला जंगे बनेका पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधवकुमार नेपाल अहिले बुंगे भएको टिप्पणीसमेत गर्नुभयो ।

उहाँले सरकार ढालेँ भन्नेहरु अहिले ढोका बाहिर कसैले प्रसाद दिन्छन् कि भनेर बसिरहेको पनि बताउनुभयो । नयाँ नेतृत्व चयनका लागि प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन आज पोखरामा शुरु भएको छ ।