१५ बैशाख २०८१, शनिबार

अवसर र लाभ उपलब्ध गराउने बहानामा कुनै गैर बैकिङ कारोबार नगर्न गृहमन्त्रालयको चेतावनी

ministar home

गृह मन्त्रालयले अवसर र लाभ उपलब्ध गराउने बहानामा कुनै गैर बैकिङ कारोबार नगर्न सचेत गराएको छ ।

मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गरी त्यस्ता गतिविधि नगर्नरनगराउन र गराएको पाइए कारबाही गर्ने चेतावनी दिएको छ।

अवसर र लाभ उपलब्ध गराउने बहानामा गैरकानुनी रूपमा सर्वसाधारणलाई ठगी गर्ने गरेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ।

मन्त्रालयले अन्य व्यक्ति, समूह, आफन्त, साथीभाइ समेतलाई यस्तो कार्य नगर्न सचेत गराउन भनेको छ।

मन्त्रालयले कम रकमको कारोबारमा बढी रकमको कागज बनाएर सही गर्न लगाउने, ढुकुटी खेल्ने खेलाउने, अनलाइनमार्फत अवैध रूपमा गतिविधि गर्ने, मिटरब्याजमा रकम उपलब्ध गराउने, बैंकिङ प्रणालीभन्दा बाहिरबाट मुद्रा पठाउने, मगाउने जस्ता क्रियाकलाप गैरकानुनी भएकाले सचेत हुन आग्रह गरेको छ।

गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा त्यस्ता गैरकानुनी कार्य गरेको पाइएमा कानुन बजोजिम कारबाही हुने भनिएको छ ।

मन्त्रालयको विज्ञप्तिमा रोजगारी र काममा लगाउने भनी लोभ देखाउने, नियुक्ति पदस्थापन सरूवा बढुवा गराउने, भर्ना, छात्रवृत्ति वा अध्ययनका लागि अवसर उपलब्ध गराउन आश्वासन दिने, जग्गा र घडेरी उपलब्ध गराउने भनी लोभ देखाउने गरिएको उल्लेख छ। उपचार वा अन्य आर्थिक सहायता उपलब्ध गराउने, अनलाइनबाट चिठ्ठा वा अन्य लाभका लागि प्रोत्साहन गर्ने, अनलाइनमा लगानी गर्न वा त्यसबाट आर्थिक आर्जन हुने भनी दुरुत्साहन गर्ने काम भइरहेको भन्दै सचेत हुन अनुरोध गरिएको छ।

‘डिजिटल मुद्रामा लगानी गर्न लोभ देखाउने, विशिष्ट व्यक्तिसँग भेटघाट तथा सम्पर्क गराउन तथा रोकिएका काम वा मुद्दा मामिलाबाट उन्मुक्ति दिलाउने भनी लोभ देखाउने गरिएको पाइएको विज्ञप्तिमा उल्लेख । ठेक्कापट्टा वा अन्य व्यावसायिक अवसर दिलाउने भनी लोभ देखाउने गरेको थाहा पाएमा पनि सूचना दिन मन्त्रालयले आग्रह गरेको छ ।

1525236001