७ बैशाख २०८१, शुक्रबार

सत्ता गठबन्धन कायमै राखेर निर्वाचनमा जाने मूडमा कांग्रेस

congress meeting
फाइल फोटो

सत्तारुढ दल नेपाली कांग्रेस आगामी निर्वाचनमा सत्तागठबन्धन कायमै राखेर जाने मूडमा देखिएको छ । पदाधिकारीदेखि कार्यकर्ता तहमा एक्लै निर्वाचनमा जानुपर्ने मत बढ्दै जाँदा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा गठबन्धनकै पक्षमा देखिनुभएको छ ।

केहीदिन अघि मात्र सार्वजनिक रुपमै कांग्रेसका उपसभापति धनराज गूरुङ र महामन्त्री गगन थापाले कांग्रेसले गठबन्धन नगर्ने बताउनुभएको थियो ।

अझ गुरुङले त गठबन्धनतर्फ संकेत गर्दै कांग्रेसलाई हात्तीको कान र माओवादी र एकीकृत समाजवादीलाई चमेराको संज्ञा दिँदै गठबन्धनको विपक्षमा खरो रुपमा आफूलाई उभ्याउनुभयो । तर, कांग्रेस भने स्थानीय तह निर्वाचनमा गठबन्धनमै जाने सम्भावना बलियो देखिन्छ ।

केपी ओली नेतृत्वको सरकारविरुद्ध बनेको नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले त्यसपछि भएको राष्ट्रियसभा निर्वाचनमा पनि गठबन्धन गरे । एमसीसीको विषयले फुटको नजिक पुगेर जोगिएको कांग्रेस नेतृत्वको माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी रहेको सत्तागठबन्धन वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि गृहकार्यमा जुटिसकेका छन् ।

मंगलबार स्थानीय चुनाव केन्द्रित छलफल गर्न बसेको बैठकमा सभापति देउवाले स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन भन्दै गठबन्धनका नेताहरुको चित्त दुख्ने गरी नबोल्न निर्देशन दिनुभएको छ ।

तर, कांग्रेसभित्र अहिलेकै गठबन्धन कायम राखेर स्थानीय तह निर्वाचनमा जाने वा स्थानीय आवश्यक्ता हेरेर गठबन्धनको अधिकार स्थानीय पार्टीलाई नै दिने भन्नेमा एक मत बनिसकेको छैन ।

कांग्रेसले फागुन २९ देखि चैत २९ सम्म एक महिने अभियान चलाउने भन्दै ७७ जिल्लामै केन्द्रीय सदस्यहरुलाई खटाएको छ । घरघर जाऔं, कांग्रेस जिताऔं नारासहित एक महिने अभियानका क्रममा कांग्रेसले पार्टी एकता सुदृढ गर्ने, यसअघिको सरकारले गरेका असंवैधानिक कामको भण्डाफोर गर्ने, एमसीसीबारेका भ्रम चिर्ने लगायतका ८ वटा उद्देश्य तय गरेको छ ।

कांग्रेसले फागुन २९ गते दिउँसो १ बजे ७७ जिल्लामा एकसाथ अभियानको उद्घाटन गर्दैछ । अभियान व्यवस्थित र प्रभावकारी बनाउन पार्टीको सबै तहमा अनुगमन समिति गठन गर्ने र सो समितिले कार्यक्रम कार्यान्वयन अनुगमन तथा कार्यान्वयन पश्चातको प्रभावसमेत विश्लेषण गरेर पार्टीलाई सुझाव दिनेछ ।

जिल्लाका लागि तोकिएका प्रतिनिधिहरु अभियान शुरु हुनु ३ दिनअघि अर्थात् चैत २६ गतेनै जिल्ला जिल्ला पुगिसक्ने बताइएको छ । निर्वाचनमा खासै व्यवस्थित नदेखिने कांग्रेसले यसपटक भने प्रतिनिधि जिल्ला पठाउनु अघि नै प्रशिक्षित गर्ने नयाँ अभ्यास थालेको छ । स्थानीय तहमा बलियो उपस्थिति बनाउन कांग्रेसको तयारीले कत्तिको पर्याप्त होला रु थाहा पाउन भने निर्वाचनसम्म पर्खनैपर्ने हुन्छ ।