६ जेष्ठ २०८१, आईतवार

लकडाउन को मौका छोपी शिकारीले बनमा आगो लगाए

wildfire nepal army

लकडाउनको मौका छापेर सिकारीले जंगलमा डढेलो लगाउन थालेका छन्। शनिबार साँझ लमाहा जंगलमा आगो लगाएको थाहा पाउनासाथ वन कर्मचारी, सशस्त्र र सेनाको टोली पुगेर निभाएको थियो। राष्ट्रिय वनमा सिकारीले आगो लगाएर वन्यजन्तु मार्ने गर्छन्।

चोचा सब डिभिजनअन्तर्गत लमाहा जंगलमा आगो लगाएपछि डिभिजन वन प्रमुख विनोद सिंहले सुरक्षाकर्मीको सहयोग मागेका थिए। पानीको ट्यांकीसहित ठूलो संख्यामा पुगेको टोलीले आगो निभाएको छ।

प्रमुख सिंहले करिब ३ हेक्टर क्षेत्रमा लगाइएको आगो नियन्त्रणमा आएको बताए। ‘लकडाउनको मौका छापेर वनमा सिकार गर्नेहरुले हैरान पारिसके,’ उनले भने, ‘जंगलभित्र प्रवेश गरी आगो लगाउने र वन्यजन्तुलाई अप्ठेरोमा पारेर सिकार गर्ने गरेका छन्। उनीहरु विरुद्ध अपरेसन सुरु गरिसकेका छौं।’

चैत-वैशाखको समयमा वनमा सुकेको पत्कर हुने भएकाले सिकारीले त्यसैमा आगो झोसिदिन्छन्। चारैतिर आगो फैलिएपछि वन्यजन्तु सकसमा परेर भाग्न खोज्छन्। सिकारीहरु हतियारसहित गौडा कुरेर बस्छन्। हरिण, बँदेल, निलगाई लगायतका वन्यजन्तुलाई उनीहरुले निसाना बनाउने गरेका छन्।

जिल्लाको कुल २९ हजार ७ सय हेक्टर जंगलमा बर्सेनि डढेलो लाग्ने गरेको छ। यसबाट ठूलो परिणाममा काठदाउरा जलेर नष्ट हुन्छ। यस वर्ष धन्सारदेखी वाग्मतीसम्मको जंगलमा डढेलो लाग्न नदिने वन प्रमुख सिंहले बताए। ~ कान्तिपुर अनलाइन