१४ बैशाख २०८१, शुक्रबार

अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै

International Womens Day

आज ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस । ‘सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रमसहित यो दिवस मनाइँदैछ ।

हरेक वर्ष मार्च ८ तारिखमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर नारी दिवस मनाउन थालिएको हो ।

सन् १९७५ मा संयुक्त राष्ट्रसङ्घले मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा घोषणा गरेको हो । नेपालमा संविधानले लैङ्गिक आधारमा कुनै पनि महिलामा कुनै किसिमका असमान ब्यवहार हुन नदिने प्रष्ट उल्लेख गरेको छ ।

जनसंख्याको हिसाबले आधा धर्ती ओगट्ने महिलाको अवस्था नाजुक रहेको विभिन्न परिसूचक तथा तथ्याङ्कहरुले देखाउँछ । लैङ्गिक विभेदका आधारमा रहेका यस्ता किसिमका अनगिन्ती असमानता हटाउन समाजमा लैङ्गिक न्याय र समानता कायम गर्न नेपालले अनेकौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरु जनाएको पनि छ ।

तर महिलाविरुद्धको शोषण, असमानता, विभेद अन्त्य भइसकेको छैन । त्यसैले प्रत्येक वर्ष नारी दिवस मनाइरहँदा वास्तविक शोषित, पीडित महिलाका आधारभूत सवालहरुमा दिवसले के ग-यो भन्ने गम्भीर रुपमा उठ्ने गर्छ ।