१६ चैत्र २०८०, शुक्रबार

लठ्याएर चार दिनपछि अस्पतालमा पसेको भालुको उद्धार

tap

ताप्लेजुङ जिल्ला अस्पतालमा थुनेर नियन्त्रणमा राखिएको भालुको चार दिनपछि उद्दार गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले लठ्याउने (बेहोस बनाउने) सुई लगाएर नियन्त्रणमा रहेको भालुको उद्दार गरेको हो।

चितवनबाट आएको राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत जैविक विविधता संरक्षण केन्द्रका वन्यजन्तु भेटेरिनरी प्राविधिक किरणराज रिजाल नेतृत्वको टोलीले भालुलाई लठ्याएको हो। उक्त भालुलाई लठ्याएर अर्थात् बेहोस बनाएर फलामे खोरमा लगाएर डिभिजन वन कार्यालय ताप्लेजुङ लगिएको छ।

भेटेरिनरी प्राविधिक रिजालले वयस्क पोथी हिमाली कालो भालु भएको जानकारी दिनुभयो। उहाँकाअनुसार सो भालुको तौल करिव ७० किलोग्राम अनुमान गरिएको छ भने पाँच फिट लम्बाई रहेको छ।

तीन प्रकारको औषधि मिश्रण गरेर भालुलाई बेहोस बनाएको हो। औषधि लगाएपछि पुनः होसमा आउनलाई दुई घण्टा जति समय लाग्ने उहाँले जानकारी दिनुभयो। यता होसमा आएपछि भालुको व्यवहार र गतिविधि हेरेर सुरक्षित जङ्गलमा छोड्ने वा सदर चिडियाखा पठाउनेबारे निष्कर्ष निकालिने पनि जैविक विधिता संरक्षण केन्द्रको टोलीले जनाएको छ।

उक्त भालु गएको बिहीबार राति जिल्ला अस्पतालको प्रसूति भवनभित्र पसेको थियो। भालु एक्कासी आएर अस्पताल भवनभित्र पसेपछि अस्पतालको सुरक्षार्थ खटेका प्रहरी र त्यहाँका कर्मचारीसमेतले भित्रै थुनिदिएका थिए। अस्पतालको प्रसूति कक्षमा कोही पनि सेवाग्राही वा प्रसूति सेवा लिनेहरु नभएको समयमा भालु भित्र पसेको जिल्ला अस्पतालका प्रमुख डाक्टर सोनिङ लामाले जानकारी दिनुभयो।

जिल्ला अस्पतालभित्र थुनेर नियन्त्रणमा राखिएको भालुलाई उद्दार तथा व्यवस्थापन गर्न प्राविधिकको उपस्थितिबिना सम्भव नभएको तीन दिन अर्थात् आइतबारसम्म थुनेकै गाउँमा राख्नुपरेको डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक डिभिजन वन अधिकृत ललित यादवले जानकारी दिनुभयो। यादवका अनुसार मासु र विभिन्न फलफूल खुवाएर राखिएको थियो। भालुको उद्दार गरेर हाल वन्यजन्तु नियन्त्रण गर्ने फलामे खोरमा सुरक्षित राखिएको यादवले बताउनुभयो।

बजार क्षेत्रमै हिमाली भालु प्रवेश गरेपछि सर्वसाधारण भने आतङ्कित बनेका थिए। दुई तीन दिनसम्म जिल्ला अस्पतालमा भालु हेर्नेको निक्कै भीड लागेको थियो भने खैलाबैलासमेत चलेको थियो। अस्पतालबाट भालुको उद्दार गरिएपछि सामान्य अवस्थामा जङ्गलमा छोडेमा मान्छेलाई आक्रमण गर्नसक्नेभन्दै स्थानीय थप त्रसित बनेका छन्। चिडियाखानामा वा टाढा संरक्षित क्षेत्रमा पु¥याएर छोड्नुपर्ने सर्वसाधारणले बताएका छन्।