११ बैशाख २०८१, मंगलवार

सुर्खेतमा कालिकोटका एक व्यापारीको शंकास्पद मृत्यु, छानबिन समिति गठन

krishna hamal

सुर्खेतमा कालिकोटका एक व्यापारीको शंकास्पद मृत्यु भएको बिषयमा छानबिन हुने भएको छ ।

नेपालगञ्जबाट व्यापारका लागि ट्रकमा सामान बोकेर आउँदा गरेका कालिकोट तिलागुफा नगरपालिका–३ का ३२ वर्षीया कृष्ण हमालको शंकास्पद मृत्यु भएको थियो ।

हमालको मृत्युका बिषयमा आफन्त र जिल्ला प्रशासन कार्यालयबीच छानबिन समिति गठन गर्ने सहमति भएको हो ।

घटनाका बिषयमा सत्यतथ्य गर्नका लागि जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तिमगर, अनुसान्धान अधिकृत गोपाल थापा र उच्च अदालत बार एसोसिएन सुर्खेत अध्यक्ष उत्तमप्रसाद आचार्य सदस्य रहेको छानबिन समिति गठन गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताउनुभयो।

छानबिन समितिले तिन दिन भित्र प्रतिवेदन प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्ने, छानविन समितिले पेश गरेको प्रतिवेदनका आधारमा जुनसुकै व्यक्ति दोषी देखिएता पनि कानुनी कारवाही अगाडि बढाउने र छानविनको कामलाई सहज बनाउनका लागि बिरोधका कार्यक्रम नगर्ने र पोष्टमार्टमका लागि शव कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाउने सहमति भएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

हमालकोे नेपालगन्जबाट ट्रकमा सामान बोकेर फर्कँदै गर्दा कालिकोट शंकास्पद मृत्यु भएको हो।

शुक्रबार बेलुका नेपालगन्जबाट मालबाहक ट्रकमा कालिकोट जाँदै गरेका हमालले सामान बढी हालेको विषयमा वीरेन्द्रनगरस्थित सुब्बा कुना प्रहरी चेकपोस्टमा प्रहरीसँग विवाद भएको थियो। सो क्रममा प्रहरीले कुटपिट गरेको आफन्तको आरोप छ। नेपालगन्जबाट भे १ क ९२२ नम्बरको ट्रकमा सामान लिएर आएका उनलाई प्रहरीले निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएका उनीहरूले दाबी गरेका छन्।

ट्रकका दुई स्टाफलाई पनि प्रहरीले कुटपिट गरेको मृतकका काका कलमबहादुर हमालले बताउनुभयो। आफूले त्यसो नगर्न भनेपछि आफूमाथि पनि प्रहरी जाइलागेको उहाँले बताउनुभयो ।

मृतक हमालको शव सुर्खेत अस्पतालमा राखिएको छ।