१४ बैशाख २०८१, शुक्रबार

अल्लो भाँगो प्रशोधन केन्द्र भवन निर्माण गर्दा दुई लाख ५१ हजारभन्दा बढी अनियमितता कालिकोटमा

ciaa

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको मान्म–८ ताडीस्थित अल्लो भाँगो प्रशोधन केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्द प्रसाद पाण्डेसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

भवन निर्माण कार्यमा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना गरेको ठहर गर्दै उनीहरु विरुद्ध अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

अख्तियारले मुद्दा दायर गरेका अन्यमा अल्लो भाँगो प्रशोधन केन्द्र कालिकोटको भवन निर्माण उपभोक्ता समिति र सोका जिम्मेवार पदाधिकारी सचिव नरेन्द्र प्रसाद पाण्डे र कोषाध्यक्ष बिनिता राना (पाण्डे) रहेका छन् । 

आर्थिक बर्ष २०७०/७१ मा सुरु भएको अल्लो भाँगो प्रशोधन केन्द्रको भवन निर्माण कार्यमा भ्रष्टाचार भएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो । 

अनुसन्धान हुँदा भवन निर्माण कार्यमा झुट्टा बिल बनाई २ लाख ५१ हजार ५२९ रुपैयाँ हिनामिना भएको ठहर अख्तियारले गरेको छ । मंगलबार दायर गरिएको मुद्दामा उनीहरुसँग त्यति नै रकम बिगो दाबी गरिएको छ ।

तत्कालिन जिल्ला कृषि विकास कार्यालयका प्रासविरुद्ध भ्रष्टाचार मुद्दा

ख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन जिल्ला कृषि बिकास कार्यालय कालिकोटका प्रा.स. रत्न प्रसाद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

कालिकोटले सञ्चालन गरेको कृषि तालिम कार्यक्रमको उनले ३ लाख ८८ हाजर ७५० रुपैयाँ हिनामिना गरेको ठहर गर्दै अख्तियारले आज उनी विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

आर्थिक बर्ष २०७०/७१ मा जिल्ला कृषि विकास कार्यालय कालिकोटले सञ्चालन गरेको कृषि तालिम कार्यक्रममा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना भएको भन्ने उजुरी परेपछि  अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो । 

अनुसन्धान हुँदा उक्त कार्यक्रममा पाण्डेले झुट्टा बिल बनाई स्रेस्तामा समाबेश गरी भुक्तानी लिने कार्य गरेको पाइएपछि अख्तियारले मुद्दा दायर गरेको जनाएको छ । 

दायर गरिएको मुद्दामा उनीसँग ३ लाख ८८ हाजर ७५० रुपैयाँ बिगो दाबी गरिएको छ । 

जलवायु परिवर्तन सम्बन्धि होर्डिङ बोर्ड निर्माण गर्दा ३ लाख २६ हजार भ्रष्टाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोट जिल्लाका तत्कालीन एलएपीए कार्यक्रम संयोजक (प्रशासकीय तथा वित्त सहायक) कमल प्रसाद खनालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम अन्तर्गत प्रचार प्रसारको लागि होर्डिङ बोर्ड निर्माण गर्दा खनालले भ्रष्टाचार गरेको ठहर गर्दैै अख्तियारले आज उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

साविक जिल्ला विकास समितिको कार्यालय कालिकोटबाट आर्थिक बर्ष २०७०/७१ मा सञ्चालन भएका बिभिन्न कार्यक्रमको प्रचारप्रसार कार्यक्रममा भ्रष्टाचार भएको भन्ने उजुरी परेपछि अख्तियारले खनालमाथि अनुसन्धान सुरु गरेको थियो । 

अनुसन्धान हुँदा आर्थिक वर्ष २०७०/७१ मा नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम अन्तर्गत प्रचार प्रसारको लागि होर्डिङ बोर्ड निर्माण गरेको भनी नक्कली भरपाई स्रेस्तामा समाबेश गरी भुक्तानी लिने कार्य गरेको खुल्न आएको अख्तियारद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

अनुसन्धानका क्रममा खनालले ३ लाख २६ हजार ४९७ रुपैयाँ भ्रष्टाचार गरेको ठहर अख्तियारले गरेको छ । असैअनुरुप अख्तियारले आज दायर गरेको मुद्दामा खनालसँग ३ लाख २६ हजार ४९७ रुपैयाँ बिगो दाबी गरिएको छ ।