६ बैशाख २०८१, बिहीबार

समकक्षीसँग वार्ताका लागि युक्रेनका राष्ट्रपतिद्वारा आग्रह

Volodymyr Zelenskyy
फाइल फोटो

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसी समकक्षी भ्लादिमिर पुटिन समक्ष वार्तामा बस्न आग्रह गरेका छन् ।

युक्रेनमा रुसी आक्रमण अन्त्यका लागि वान टु वान वार्ता नै एक मात्र उपाय भएको बताउँदै उनले छलफल गर्न आग्रह गरेका हुन् । त्यस्तै उनले पश्चिमी देशसँग रुसविरुद्ध लड्न थप हातहतियार र विमान आवश्यक रहेको बताउँदै सहयोग मागेका छन् ।

उता युक्रेनमा आठौं दिन पनि रुसले भिषण आक्रमण जारी राखेको छ । यसैबीच युक्रेनमा युद्ध अन्त्य गर्ने विषयमा रूस र युक्रेनका अधिकारीले दोस्रो चरणको छलफल गरेका छन् ।

छलफलमा युद्धग्रत स्थानका सर्वसाधारणलाई सहज रुपमा बाहिर जान दिने बारे रुसले सहमति जनाएको छ । दुई देशका अधिकारीबीच तेस्रो चरणको वार्ता पनि हुने भएको छ। रुसी आक्रमणकाबीच राजधानी किभ अझै सरकारी नियन्त्रणमा रहेको छ ।

रुसी आक्रमणयता दश लाखभन्दा बढीले युक्रेन छोडेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

यसैबीच युक्रेनको जापोरिज्जिया आणविक ऊर्जा केन्द्रमा आगलागी भएको छ । युरोपकै सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्रमा लगातारको हमलासँगै आगलागी भएको हो । युक्रेनमा जापोरिज्जियासहित चारवटा सक्रीय परमाणु केन्द्र रहेका छन् ।