११ बैशाख २०८१, मंगलवार

‘रुसले घोषणा गरेको अस्थायी युद्ध विराम रुसले नै भंग गर्‍यो’

ukraine russia

युक्रेनले रुसद्वारा घोषणा गरिएको अस्थायी युद्ध विराम रुस आफैँले भंग गरेको आरोप लगाएको छ ।

लुहान्सका गभर्नर शेरी हेडेका अनुसार रुसले युद्ध विराम घोषणा गरेको केही समयमात्र आक्रमण स्थगित गरेको थियो । तर रुसी रक्षा मन्त्रालयले भने जवाफी कारबाही मात्र गरेको बताएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबारदेखि लागू हुनेगरी ३६ घण्टालाई युद्ध विराम गर्न रक्षा मन्त्रालयलाई आदेश दिएका थिए । अर्थोडक्स क्रिसमसलाई लक्षित गर्दै पुटिनले अस्थायी युद्ध विरामको आदेश दिएका थिए ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वी डोनेत्स्क क्षेत्रमा आफ्नो सेनाले लिइरहेको अग्रतालाई रोक्ने प्रयास स्वरुप उक्त युद्ध विरामको घोषणा गरिएको आरोप लगाएका छन् ।

अर्थोडक्स क्रिस्चियनहरुले जुलियन क्यालेन्डर अनुसार जनवरी ७ मा अर्थोडक्स क्रिसमस मनाउने चलन छ । करिव ३० करोड अर्थोडक्स क्रिस्चियनहरु पूर्वी तथा दक्षिण पूर्वी युरोपमा बसोबास गर्छन् ।

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको एक वर्ष पुग्न लागेको छ । यसबीचमा दुवैतिरका हजारौँ सैनिकसँगै सर्वसाधारण मारिएका छन् ।