१३ बैशाख २०८१, बिहीबार

रुसले थप भीषण आक्रमण गर्ने सक्ने युक्रेनी रक्षामन्त्रीको दाबी

ukraine defense minister

युक्रेनी रक्षामन्त्री ओलेक्सी रेजनिकोभले रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको वर्षदिन पुगेको अवसर पारेर थप नयाँ र भीषण आक्रमणको तयारी गरिरहेको दाबी गरेका छन् ।

उनले यसका लागि मस्कोले सीमा क्षेत्रमा करिब पाँच लाख सैनिक परिचालन गरेको बताएका छन् । गत सेप्टेम्बरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्धको युद्ध लड्न तीन लाख जगेडा सैनिक परिचालन गर्ने घोषणा गरेका थिए ।

युक्रेनी रक्षामन्त्री रेजनिकोभले मस्कोले पुटिनले घोषणा गरेभन्दा निकै बढी सैनिक भर्ना र परिचालन गरेको हुन सक्ने आशंका व्यक्त गरेका छन् । फ्रान्सको बीएफएम टीभीलाई दिएको अन्तर्वार्तामा रेजनिकोभले सीमा क्षेत्रमा रुसी सेनाको उपस्थितिको मात्राले यस्तो शंका उत्पन्न गरेको बताएका हुन् ।

युक्रेनको पूर्वी डोनबास क्षेत्रमा व्यापक भिडन्त जारी रहेपनि कुनै पनि पक्षले खासै प्रगति गर्न सकेको छैन । रुसले पूर्वी सहर सोलेदार आफ्नो नियन्त्रणमा लिएको कुरालाई अपवादका रुपमा लिने हो भने कुनै पक्षले स्थलगत रुपमा अग्रता लिन सकेको देखिँदैन । अमेरिकास्थित युद्ध अध्ययन संस्था आईएसडब्लुले पनि मस्कोले पूर्वी डोनबास क्षेत्रमा निर्णायक कारवाही गर्न सक्ने जनाएको छ ।

यही फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको वर्षदिन पुग्दैछ । यस युद्धका क्रममा दुवैतर्फ हजारौं सैनिक मारिनुका साथै सयौँ युक्रेनी सर्वसाधारणले ज्यान गुमाएका छन् ।

करिब ८० लाख विदेश पलायन भएका छन् । युक्रेनको पूर्वी क्षेत्रका केही भूभाग आफ्नो नियन्त्रणमा लिएपनि रुसले युद्धमा आफूले अपेक्षा गरे अनुसार खासै सफलता हात पार्न सकेको छैन । नेटो र अमेरिकालगायतका पश्चिमा देशबाट प्राप्त सामरिक सहयोगको बलमा युक्रेनले रुसलाई कडा टक्कर दिँदै आएको छ ।