७ बैशाख २०८१, शुक्रबार

पुर्व मिस नेपाल श्रृंखला खतिवडाले भनिन्- नाबालिगसँग यौनसम्बन्ध स्थापित गर्नु अपराध हो

shirinkhala khatiwoda

अहिले सामाजिक सञ्जाल अभिनेता पल शाह प्रकरणले तातिरहेको छ । बलात्कारको आरोपमा पल शाह प्रहरीको हिरासतमा रहेका छन् । नाबालिग गायिकाले शाहविरुद्ध जबरजस्ती करणीको आरोपमा उजुरी दिएपछि उनले आफै आत्मसमर्पण गरेर तनहुँ पुगेका थिए ।

अब यस विषयमा कलाकारहरु पनि बोल्न थालेका छन् । अभिनेत्रीहरु रेखा थापा, ऋचा शर्मा लगायतले नाबालिगको पक्षमा खुलेर बोलेका छन् ।

त्यस्तै, पुर्व मिस नेपाल श्रृंखला खतिवडाले पनि मुख खोलेकी छिन् । एउटा वयस्कले नाबालिगमाथि यौनसम्बन्ध स्थापित गर्नु कानुन विपरित भएको खतिवडाको भनाइ छ ।

सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत खतिवडाले लेखेकी छिन्,‘कानुन वयस्कहरुलाई यस्ता नाबालिगको खोजी गर्नबाट रोक्नमा मद्दत गर्नका लागि बनाइएका हुन् जुन सजिलै प्रभावित हुनसक्छन् वा आफैंले कुनै निर्णय लिन असमर्थ हुनसक्छन् ।’

मानिसहरुले एक नाबालिगलाई भन्दा ३० वर्ष नाघिसकेका व्यक्तिलाई समर्थन गरिरहेकोमा आफुलाई विश्वास नभइरहेको उनको भनाइ छ । यो सम्बन्धले युवतीमा कस्तो मानसिक प्रभाव पारेको छ भन्ने कुरा कसैले कल्पना गर्न नसक्ने उनले बताएकी छिन् । नाबालिग जताततै अन्तरवार्तामा आउनुलाई खतिवडाले अपरिपक्कको संज्ञा दिएकी छिन् ।

पुर्व मिस नेपाल खतिवडाले ती नाबालिगलाई आत्मबल बलियो बनाउन पनि सुझाव दिएकी छिन् । नाबालिगसँग यौनसम्बन्ध स्थापित गर्नु अपराध भएको उनले स्पष्ट पारेकी छिन् ।

आजकाल धेरै नाबालिगले आफूभन्दा निकै पाको उमेरका पार्टनरसँग यौनसम्बन्ध स्थापित गरिरहेको भन्दै उनले जसको कारण जीवनभरी नै गहिरो घाउ बनिरहेको पनि बताएकी छिन् ।