११ बैशाख २०८१, मंगलवार

नेपाली काँग्रेसले कहिल्यै राष्ट्रघात गर्दैन : महामन्त्री शर्मा

bishow prakash

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसले कहिल्यै राष्ट्रघात नगर्ने बताउनु भएको छ ।

मध्यपुरथिमि–४ बालकुमारीमा आज नेपाली काँग्रेस मध्यपुरथिमि नगर समितिले आज आयोजना गरेको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै उहाँले एमसीसी राष्ट्रघात हो भन्ने कुरा बेकार हो भन्नुभयो ।

उहाँले कुनै पनि देशको सैन्य रणनीति नेपाललाई स्वीकार्य नहुने बताउँदै  एमसीसीमा सैन्य रणनीति नरहेको प्रष्ट पार्नु भयो ।

नेपाल गरिब देश भएकाले सैन्य रणनीतिबाहेक जुनसुकै देशको सहयोग पनि स्विकारेर देशको विकासमा लगाउनु पर्ने उहाँको धारणा थियो ।

महामन्त्री शर्माले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उमेर पुगेका प्रत्येक व्यक्तिलाई मतदानमा सहभागी हुन आव्हान गर्नु भयो । उहाँले राजनीतिदेखि बिरक्तिएर भोट हाल्न जान्न भन्ने मानसिकता नराख्न युवा वर्गलाई आग्रह गर्नुभयो ।

महामन्त्री शर्माले भन्नुभयो, “जस्तोसुकै अवस्था आए पनि मतदान गर्ने अधिकार प्रयोग गर्नुस्, तर जब मतदान गर्ने बेलामा एक पटक गम्भीर भएर सोच्नुस्, यसअघिको सरकारको समीक्षा गर्नुस्, अहिले काँग्रेस सरकार आएपछिको पनि समीक्षा गर्नुस्, र मतदान गर्नुस् ।”

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, जिल्ला सभापति दुर्लभ थापा, सभापतिका प्रत्याशी युवा नेता अष्टकुमार कँवे, मध्यपुर नगर सभापति हरिदास प्रजापतिलगायतले चुनावी अभियान सुरु भएको भन्दै आगामी निर्वाचनमा काँग्रेसको जित सुनिश्चित हुने गरी काँग्रेस एक ढिक्का भएर अगाडि बढ्नु पर्ने बताउनु भयो ।