८ बैशाख २०८१, शनिबार

अविस्मरणीय पल शाहका लागि फागुन १५ : जुन दिन आत्मसमर्पण, यो दिनमै रिहाइ

328636028 568662381993286 2280725978554914583 n

गतबर्षको फागुनको १५ गते बिहान ११ बजे नायक पल शाहले जिल्ला अदालत, तनहुँमा आत्मसमर्पण गरेका थिए ।

फागुनको ११ गते एक नाबालिक गायिकाले पलले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला अदालत, तनहुँमा उजुरी दिएकी थिइन् । गत वर्ष यही दिनमा पल शाह आफ्नो फिल्म ‘म यस्तो गीत गाउँछु २’को प्रिमियरका लागि मेकअप रुममा थिए । तर, तनहुँमा उजुरी परेको खबर सार्वजनिक भएसँगै पल प्रिमियरमा सहभागी हुन पाएनन् ।

प्रिमियरमा सहभागी नभएका पल ४ दिनसम्म प्रहरी प्रशासनको आँखा छलेर बसिरहेका थिए । तर, फागुनको १५ गते पल शाहको एक भिडियो सार्वजनिक भयो । जहाँ, उनले प्रशासनलाई सहयोग गर्ने भन्दै आफूले आत्मसमर्पण गर्न लागेको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेपछि पल शाहको विषयमा सामाजिक सञ्जाल र मिडिया गर्माएका थिए ।

कतिपयले त पल शाहलाई सोही समयमा नै बलात्कारी घोषणा गरिसकेका थिए । कतिपय मिडियाले त पल शाहलाई दोषी करार गर्दै उनलाई १२ वर्षको जेल सजाय हुनुपर्ने सम्मका तर्क गर्न भ्याएका थिए ।

पल शाह विरुद्ध नाबालिका गायिकाले जिल्ला प्रहरी कार्यालय, नवलपरासीमा पनि उजुरी दिइन् । यसपछि भने पल शाहले अदालतको चक्कर काट्नु परेको थियो । पललाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

तर, पलले आत्मसमर्पण गरेको ठ्याक्कै एक वर्षपछि उनले सबै मुद्दाबाट सफाइ पाएका छन् । उनी आज रिहा भएका छन् । पल शाहले एक वर्ष लामो जेल सजाय बिताउँदै गर्दा उनले कैयौँ आरोपहरू भोगे । यो एकबर्षको समयमा पलले धेरै उतारचढाव भोगे । उनलाई कहिले अदालती निर्णय अगाडी नै बलात्कारी घोषित समेत गर्दिए । तर न्यायको लडाइँमा पल निरन्तर लडिरहेका थिए । जाहेरीकर्ताको बयानको बदलावले उनलाई चाडै रिहाइ मिल्ने अपेक्षा शुभचिन्तकले गरेका थिए। तर उनलाई नवलपुर पूर्व अदालतले बाल यौन दुरुपयोगमा २ वर्ष ६ महिनाको सजाय सुनायो। तनहुँ अदालतले उनलाई सफाइ दियो। पल नवलपुरको मुद्दा विरुद्ध उच्च अदालत पोखरा पुगे । पललाई फागुन १४ गते उच्च अदालत पोखराले सफाइ दियो।

तर, संयोग नै मान्नुपर्छ, एक वर्ष अगाडि पलले फागुन १५ गते आत्मसमर्पण गरेका थिए । उनै, पल आज फागुन १५ गते नै रिहाइ भएका छन् । पलका लागी फागुन १५ जीवनकै अविस्मरणीय दिनको रूपमा रहनेछ । यही दिन उनी जेल परे यही गते उनी सफाइ पाएर बाहिरिएका छन् ।