१२ बैशाख २०८१, बुधबार

पाँच जनाको ज्यान लिने बाँकेको नरभक्षी बाघ चितवन ल्याइयो

tiger chitwan

पाँच जनाको ज्यान लिने बाँकेको नरभक्षी बाघलाई चितवनमा ल्याइएको छ ।

आज बाँके राष्ट्रिय निकुञ्जको सुरक्षाकर्मीसहितको टोलीले चितवन राष्ट्रिय निकुञ्जमा ल्याएर छाडेको हो ।

विशेष हेरबिचार गर्ने डाक्टरसहित बाघलाई कसरामा खोरमा राखिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले नारायणी अनलाइनलाई जानकारी दिए ।

उनले भने, ‘बाँके राष्ट्रिय निकुञ्जमा खोर बन्दै गरेकोले चितवन ल्याइएको हो । यसलाई तत्काल जंगलमा छाडिँदैन । पछि अवस्था हेरेर चिडियाखानामा पठाउन सकिन्छ ।’

कसरामा राखिएको बाघलाई दिनमा चारदेखि ६ केजीसम्म राँगाको मासु दिइन्छ । कहिँलेकाहीँ मरेको जंगली जनावरहरुको मासु पनि दिइन्छ । कहिलेकाहीँ केही स्वास्थ्य समस्या परेमा डाक्टरले यसको स्वास्थ्य परीक्षण गर्छन् । प्रमुख संरक्षण अधिकृत आचार्यले कसरामा राखेर बाघको दैनिक बानी व्यवहारको अध्ययन गरिने बताए ।

गत माघ २२ गते बाँकेको राप्ती सोनारी गाउँपालिका–४ की लीला विष्ट सामुदायिक वनमा घाँसदाउराका लागि जाँदा नरभक्षी बाघले खाएको थियो । सोही घटनाको दुई दिनपछि राप्ती सोनारी–६ की चाँदनी थारूलाई सोही बाघले आक्रमण गरेर मारेको थियो ।

यी दुई घटना हुनुभन्दा पहिले सामुदायिक मध्यवर्ती क्षेत्रमा सोही बाघको आक्रमणबाट एक भारतीय नागरिकको ज्यान गएको थियो । त्यस्तै, केही समयअघि स्थानीय दुर्गा थारु सोही बाघको आक्रमणबाट घाइते भएकी थिइन् । उनी सामान्य उपचारपछि घर फर्किइन् ।

त्यसैगरी फागुन पहिलो साता मात्रै नरभक्षी बाघको आक्रमणबाट स्थानीय धनबहादुर चलाउनेको ज्यान गएको छ । त्यसपछि बाघको आक्रमणबाट वकिल गद्दी घाइते भए ।

पटक–पटक मानिसलाई आक्रमण गर्दै ज्यान लिने नरभक्षी बाघलाई बुधबार वन डिभिजन कार्यालय बाँकेले नियन्त्रणमा लियो । राप्ती सोनारी गाउँपालिका–६ राप्तीपीडित सामुदायिक वनबाट नियन्त्रणमा लिइएको बाघलाई वन प्रशासनले बाँके राष्ट्रिय निकुञ्जमा बुझाएको थियो । बाँके राष्ट्रिय निकुञ्जका कर्मचारीले डार्ट गरेर लठ्याएपछि गाडीमा हालेर चितवन ल्याइएको हो ।

बाघ नियन्त्रणका लागि वन डिभिजन कार्यालयले माघ २६ गतेदेखि आहारा प्रजाति (डार्ट) राखी सामुदायिक वनका कर्मचारी, भेटेनरी डाक्टर, नेपाल प्रहरी र नेपाली सेना परिचालित गरेको थियो । अहिलेसम्म बाघको आक्रमणबाट पाँचजनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन् ।