७ बैशाख २०८१, शुक्रबार

राजधानी किभको बाहिर ६४ किलोमिटरमा रुसी सैन्य गाडीको ताँती, युक्रेनमाथि जितको घोषणा गर्दै पुटिन

Ukraine Russia

सोमबार खिचिएका स्याटेलाइट तस्बिरहरूले युक्रेनको राजधानी किभको उत्तरमा ६४ किलोमिटरसम्म रुसी सेनाका बख्तरबन्द (सेनाका गाडी) का ताँती फैलिएको देखाएको छ । यसअघि सो क्षेत्रमा २७ किलोमिटरसम्म बख्तरबन्द फैलिएको बताइएको थियो ।

अमेरिकी कम्पनी म्याक्सरले संग्रह गरेको ती तस्बीरहरुमा रुसी बख्तरबन्दले एन्टोनोभ विमानस्थलनजिकको सडकदेखि प्राइबिस्र्क सहरसम्मको क्षेत्रलाई ढाकेको देखिन्छ । ‘कन्भोय गुडिरहेको सडकनजिक इभान्किभको उत्तर र उत्तरपश्चिममा धेरै घर र भवनहरू जलिरहेको देखिन्छ,’ म्याक्सरले भनेको छ ।

युक्रेनको सीमाबाट मुस्किलले ३२ किलोमिटर टाढा रहेको दक्षिणी बेलारुसमा रुसले ग्राउन्ड अट्याक हेलिकोप्टर युनिट र थप स्थल सेना परिचालन गरेको पनि म्याक्सर टेक्नोलोजिले जनाएको छ ।

बिहीबार रुसी आक्रमण सुरु भएदेखि नै युक्रेनी फौजले मध्यकिभ जाने बाटोमा रुसी फौजले गरेको हमलालाई प्रतिकार गरेको छ । रुसी सेनाले सोमबार राजधानी कब्जा गर्नको लागि आक्रमणको पूर्वसन्ध्यामा एउटा राजमार्गमा युक्रेनीहरूलाइ ‘स्वतन्त्र रूपमा’ किभ छोड्न आग्रह गरेको थियो ।