७ बैशाख २०८१, शुक्रबार

नयाँ अध्यायको प्रारम्भ एमसीसी कार्यान्वयनसँगै विकास र सहयोगमा

dr prakashsaran mahat

सत्तारुढ दल नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रतिनिधिसभा संसदबाट मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदनमा सहयोग गरेको गठबन्धनका दलहरुलाई धन्यवाद दिनुहुदै एमसीसी परियोजना अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

काँग्रेस केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा समसामयिक परिस्थ्तििका विषयमा ओजित पत्रकार सम्मेलनमा उहाँले एमसीसीमाथि भ्रम र दुविधा जनमानसमा रहेको तर यसलाई चिर्दै बृहत्तर सहमतिका साथ यो परियोजना पारित भएको बताउनुभयो ।

यसमा प्रमुख विपक्षी दल नेकपा एमाले कतिपय प्राविधिक कारणले औपचारिकरुपमा सहभागी नभएपनि सकरात्मक रहेको भन्ने बुझाइ रहेको पनि उहाँले भन्नुभयो ।

‘प्रधानमन्त्री शेरबहादुर देउवाको सुझबुझ प्रस्तुति, परिपक्वता, धैर्यताले यो सहमतिको बिन्दुमा ल्याएर परियोजनालाई संसदबाट अनुमोदन गर्ने आधार सिर्जना भयो । त्यसको लागि पार्टीको तर्फबाट उहाँलाई धन्यवाद दिन चाहन्छौं । यसलाई नेपाली जनताले पनि प्रशंसा गरेको छ, काँग्रेसले सधैं परिपक्व निर्णय गर्छ ।’, महत बताउनुहुन्छ ।

यसबाहेक एमसीसीबारे बाँकी रहेका भ्रम पनि चिर्दै काँग्रेस अघि बढ्ने उहाँको भनाई छ । ‘एमसीसी विशुद्ध विकास परियोजना हो । अरु कुनै उद्देश्य छैन । यो व्याख्यात्मक घोषणा र मूल डकुमेन्टमा पनि छ ।’, उहाँले भन्नुभयो ।

यसबाहेक व्याख्यात्मक घोषणा कागजको खोष्टो मात्रै रहेको भन्ने आशंका भएको भए पनि यो भ्रमलाई समेत काँग्रेसले चिर्ने उहाँले प्रष्ट पार्नुभयो । एमसीसी कार्यान्वयनसँगै विकास र सहयोगको सम्बन्धमा नयाँ अध्यायको प्रारम्भ हुने पनि उहाँले बताउनुभयो ।