१४ बैशाख २०८१, शुक्रबार

निर्धारित समयमा बस्न सकेन संसद्‍ बैठक: दलहरु आन्तरिक छलफलमा

house

आइतबार दिउँसो १ बजेका लागि तोकिएको प्रतिनिधिसभाको बैठक निर्धारित समय भन्दा ढिला भएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार बैठक एक घण्टाका लागि सारिएको छ । दिउँसो १ बजेका लागि तोकिएको बैठक २ बजेका लागि सारिएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार दलहरु आन्तरिक छलफलमा व्यस्त हुँदा दिउँसो साढे १ बजेसम्म कार्यव्यवस्था समिति बैठक बस्न सकेको छैन ।

अमेरिकी विकास सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)माथि छलफल हुने सम्भावित कार्यसूची यसअघि नै सार्वजनिक भएको थियो ।

सत्ता गठबन्धनमा सहभागी दलले एमसीसीको अनुमोदनका लागि व्याख्यात्मक प्रस्तावमा सहमति जनाएपछि त्यसको तयारीमा भइराखेको छ । सत्ता गठबन्धनका सबै दल छलफलमा व्यस्त हुँदा बैठक ढिला हुने भएको हो ।

व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णयलाई औपचारिकता दिन नेकपा (माओवादी केन्द्र) संसदीय दल र नेकपा (एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बसिराखेको छ ।

सत्ता गठबन्धनका दलले एमसीसीको विषयमा औपचारिक निर्णय गरेपछि मात्र कार्यव्यवस्था समिति बैठक बस्नेछ । त्यसपछि संसद् बैठक आरम्भ हुने सभामुखका प्रेस सल्लाहकार न्यौपानेले जानकारी दिनुभयो ।