१५ बैशाख २०८१, शनिबार

फरार पल शाह निकट कलाकार र व्यक्तिसँग प्रहरीको सोधपुछ सुरु

Paul Shah

अभिनेता पूर्ण विक्रम शाह उर्फ पल शाहविरुद्ध जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेपछि पललाई प्रहरीले पक्राउ गर्न खोजी गरिरहेको छ ।

१७ वर्षीया एक बालगायिकाले गत बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय तनहुँमा जबर्जस्ती करणीको मुद्धा दायर गरेपछि पल अहिले प्रहरीको फरार सूचिमा छन् । उनलाई पक्राउ गर्नको लागि प्रहरी प्रधान कार्यालयले देशभरिका प्रहरीलाई सर्कुलेशन जारी गरेको छ ।

उनी परिचितहरूको सहयोगमा काठमाडौँभित्र लुकेर बसेको प्रहरीको निष्कर्ष छ। पल चार दिनसम्म पनि भागेको भाग्यै गरेपछि अब उनलाई लुकाउनेहरूको खोजीमा प्रहरी खटिएको छ।

बलात्कारको उजुरी परेपछि प्रहरीले कलाकारसँग सोधपुछ सुरु गरेको छ। यसमा नियमित सम्पर्कमा देखिएको र आश्रय दिनेहरू रहेका छन्। मुलुकी अपराध संहिता २०७४ ले भाग्न सघाउने र आश्रय दिने दुवै व्यक्तिलाई समेत कारबाही गर्न सक्ने कानुनी प्रावधान छ।

सोही प्रावधानमा टेकेर प्रहरीले पहिला भगाउन सघाएको आशङ्कामा फिल्म निर्देशक सुदर्शन थापालाई नियन्त्रणमा लिएको हो। शनिबार निर्देशक तथा निर्माता सुदर्शन थापालाई नियन्त्रण लिएर काठमाडौं प्रहरीले सोधपुछ सुरु गरेर छाडेको थियो।

काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदीप गिरीका अनुसार पल शाहविरुद्ध परेको उजुरीको सोधपुछका लागि निर्देशक थापालाई नियन्त्रणमा लिइएको हो। उनी फरार भएपछि सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको हो।

‘उनलाई पक्राउ गरिएको होइन। केही जानकारी छ कि भनेर सोधपुछका लागि बोलाएका हौँ’, एसएसपी गिरीले बताए। पछिल्लो समय अभिनेता शाहसँग सम्पर्कमा रहेको देखिएपछि प्रहरीले सोधपुछ गरेको हो। प्रहरीले अभिनेता शाह निकटका अन्य व्यक्तिसँग सोधखोज गरिरहेको छ।

यस्तै पलका म्यानेजर भनिएका जोशीसँग पनि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

फरार अवस्थामै पलले बिहीबार बिहान केही गोप्य अडियोसहित आफूमाथि षड्यन्त्र भएको स्टाटस सार्वजनिक भएपछि खोजीमा जुटेको प्रहरी झन् तनावको अबस्थामा रहेको छ। पलले आफूले अपराध गरेको प्रमाणित भए कानूनी सजाय भोग्न तयार रहेको भन्दै सामाजिक सञ्जालमा फेसबुक स्टाटस लेखेका थिए । उनले आफूबिरुद्ध षड्यन्त्र भएको भन्दै केही तथ्यहरुसमेत फेशबुकमा पेस गरेका छन् । जसमा पलले चार जना फसाउन लागेको भन्‍दै फेसबुकबाट अडियोसहित सार्वजनिक गरेका हुन् ।

‘आफूविरुद्ध जाहेरी दर्ता भएपछि प्रहरीबाट भाग्दै जथाभावी रूपमा अडियो र स्टाटस लेख्नु उनको अर्को महाभुल हो,’ काठमाडौंका एक प्रहरी अधिकृत भन्छन्, ‘यो त उनले आफूविरुद्ध लागेको आरोप आफैं प्रमाणित गरेको हुन जान्छ।’

सार्वजनिक गरेका ती श्रव्य सामग्री ध्यान दिएर सुन्ने हो भने उनले आफैं आरोप पुष्टि गरेका छन्। जुन प्रहरीकालागि ती अडियो पलका बयान हुन्। दुईबीच शारीरिक सम्बन्ध भएको पक्का सबुत हुन्।

जघन्य अपराधका आरोपीसँग निरन्तर सम्पर्कमा रहनु र प्रहरीलाई खबर नदिनु पनि कानूनअनुसार दण्डनीय मानिन्छ।

अपराध संहिताको दफा ९५ मा कसैले कुनै कसुरदारलाई जानीजानी पक्राउबाट वा कानुन बमोजिम हुने सजायबाट बचाउने नियतले आश्रय दिन नहुने उल्लेख छ। कसुरदार भन्नाले कुनै कसुरमा शङ्कास्पद रहेको, अभियुक्त बनाएको वा अदालतबाट दोषी ठहर भएकोलाई कानुनले कसुरदार मानेको छ।

आश्रय दिएमा जन्मकैद हुने कसुरदारको हकमा पाँच वर्ष कैद र ५० हजार जरिवाना, १० वर्ष कैद हुने कसुरदारको हकमा तीन वर्षसम्म कैद र ३० हजार जरिवाना हुनसक्छ। पलविरुद्ध दर्ता भएको जाहेरी अनुसार उनलाई अधिकतम १० वर्ष कैद हुनसक्छ। सो अनुसार उनलाई लुक्न आश्रय दिएमा तीन वर्ष कैद हुनसक्छ।

पति, पत्नी वा आमा, बाबु,छोरा – छोरी, भाइ – दिदी, बहिनी बाजे बज्यै नाति नातिनी सासू ससुरा बुहारी र ज्वाइँले लुकाएमा मात्रै सजाय हुन्न।