१५ चैत्र २०८०, बिहीबार

हामीलाई सडकमा नफालिदिनुस् प्रभु गठबन्धन जोगाई दिनुस्, उहाँहरु आधाआधा सुत्नु भयो: अध्यक्ष ओली

gathbandan vs uml
फाइल फोटो

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमसीसी संसदबाट पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई बचन दिएको खुलासा गर्नु भएको छ ।

अध्यक्ष ओलीले हिजो बिहानै प्रधानमन्त्री देउवालाई भेटेर प्रचण्ड–नेपाल दुवैले गठबन्धन नटुटाउने सर्तमा एमसीसी पास गर्ने बचन दिएको बताउनु भएको हो ।

आज काठमाडौंमा आयोजित प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन, नेपालको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले एमसीसीबारे कांग्रेसले आफ्नो पार्टीसँग छलफल गरेपछि प्रचण्ड–नेपाल गठबन्धन टुट्ने डरले अत्तालिएको दावी समेत गर्नुभयो । तर प्रधानमन्त्री देउवाले भने एमसीसी पास गर्न इमान्दार हुन प्रचण्ड–नेपाललाई सचेत गराएको ओलीको भनाइ थियो ।

अध्यक्ष ओलीले आफ्नो पार्टीले भने देश र जनताको हितमा त्यसबारे आवश्यक निर्णय लिने दोहोर्‍याउनुभयो । उहाँले गैरसांसदहरुलाई संसदमा राखेर सभामुख अग्नीप्रसाद सापकोटाले संसद चलाएसम्म आफूहरुले संसदको कुनै पनि प्रक्रियामा भाग लिन नसक्ने अडान पनि दोहोर्‍याउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘एमसीसीबारे हामीसँग कांग्रेसले कुरा गर्‍यो । कांग्रेसले कुरा गरेको थाहा पाएपछि साथीभाइको सातो गएछ–गठबन्धन टुट्छ भनेर ।

हिजो बिहान प्रचण्ड, माधव नेपाल कुदेर शेरबहादुर देउवा कहाँ गएर भन्नु भो–हामी एमसीसी पास गर्छौ, गठबन्धन जोगाई दिनुस् । हामीलाई सडकमा नफालिदिनुस् प्रभु । भनेपछि प्रधानमन्त्री देउवाजीले हेर्छु, कत्तिको इमान्दार छौं । इमान्दार रहेछौ भने ठिक छ भनेर प्रधानमन्त्रीजीले पठाउनुभयो । गएको राति उहाँहरु आधाआधा सुत्नु भयो । निन्द्रा लागेन, अब के गर्ने ? नेकपा एमाले यसरी चल्दैन । नेकपा एमालेले राष्ट्रिय हित, जनता र देशको हित, देशको विकास, अन्तर्राष्ट्रिय सम्बन्धलगायतका तमाम कुराहरुलाई हेरेर जे गर्दा राष्ट्रका लागि उचित हुन्छ, त्यो मात्रै गर्छ ।’

अध्यक्ष ओलीले जनप्रतिनिधिहरुलाई एमसीसीबारे आवश्यक निर्णय लिन आफूले प्रधानमन्त्री हुँदा सो प्रस्ताव संसदमा पेश गरेको पनि स्पष्ट पार्नुभयो । उहाँले सत्तारुढ गठबन्धनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध लगाएको महाअभियोग प्रस्ताव संसदमा निर्णयार्थ प्रस्तुत नहुने दावीसमेत गर्नुभयो ।

सो प्रस्ताव संसदमा निर्णयार्थ पेश गर्न नभई न्यायालयलाई झनै अस्तव्यस्त पार्न ल्याइएको अध्यक्ष ओलीले तर्क गर्नुभयो । उहाँले नेपाल बार, सर्वोच्च बारले आन्दोलन गरेर न्याय क्षेत्रको गरिमा नबढने बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘यो महाअभियोग के पारित गर्न लगाएको हो र ? पारित हुन्छ यो ? पारित गर्न ल्याइएकै होइन । यो त लम्ब्याउँदै–लम्ब्याउँदै हरेक कुरालाई लम्ब्याउने, मानि लिऊ–देशको समयको कुनै मूल्य छैन । यति तीब्र ढंगले विश्व अघि बढेको छ । हाम्रो देशको समयको कुनै मूल्य नै छैन । अलमल्याई दिउ, पछाडि धकेलिदिऊ, समय बर्बाद गरिदिऊ । हरेक कुरामा, हरेक क्षेत्रमा यस्तै भइराख्या छ । यसमा पनि त्यही भइराख्या छ । तपाईहरुलाई म भन्न चाहन्छु–चोलेन्द्र शम्शेरविरुद्धको महाअभियोग कुनै पनि दिन निर्णयार्थ प्रस्तुत हुनेछैन, संसदमा हुँदैन । ’

ओलीले न्यायालय सत्तारुढ दलको सेटिङमा चलेको तर आफ्नो दलले सेटिङ गरेको भनेर झुटो प्रचार भइरहेको गुनासोसमेत गर्नुभयो ।