२३ बैशाख २०८१, आईतवार

ओलीले भने, ‘म बाटोबाट हिँड्छु अनि ढुङ्गा हान्छन्’, सम्झौता गर्नेलाई हान्दैनन्

KP OLI Pokhara
फाइल फोटो

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ दलले नै कार्यकर्तालाई सडकमा उतारेर प्रहरीलाई ढुंगा हान्न लगाएको बताएका छन् । शुक्रबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले एमसीसी ल्याउनुपर्छ भनेर सम्झौता गर्नेहरूले विरोध गर्दै हिँडेको र आफूमाथि ढुंगा प्रहार गरेको बताए ।

एमसीसी ल्याउनुपर्छ भन्ने नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल, सम्झौता गर्ने नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस तथा नेता डा. बाबुराम भट्टराईलाई केही नगरी आफूमाथि ढुंगा हानिएको उनको भनाइ छ । केही दिनअघि प्रतिनिधिसभा बैठकमा जानेक्रममा ओलीलाई लक्षित गर्दै ढुंगा प्रहार गरिएको थियो ।

“एमसीसी सहयोग नेपालमा ल्याई पाऊँ भनेर आफू चिठी लेखेर निवेदन हाल्ने झलनाथ खनाल बाटोमा हिँड्दा ढुंगा हान्दैनन् । ताली बजाउँछन् । बाबुराम भट्टराई एमसीसी अघि बढाउने मान्छे हिँड्दा ढुंगा हानेनन् ।

नेपाली कांग्रेसले एमसीसी पास गराउनुपर्छ भन्छ । सभामुखले टेबुल गरेका छन् । ढुंगा हानिँदैन । एमसीसी ठिक छ भनेर कुरा टुंग्याउने कृष्णबहादुर महरा बाटोमा हिँड्दा ढुंगा हानिँदैन,” ओलीले भने, “म बाटोबाट हिँड्छु अनि ढुंगा हान्छन् ।”